इङ्ल्यान्डका टेस्ट कप्तान जोए रुट यो वर्ष शानदार लयमा छन्। भारतविरुद्ध जारी टेस्ट शृंखलाअन्तर्गत रुटले लगातार तेस्रो खेलमा सतक बनाएका छन्। उनको शानदार ब्याटिङमा घरेलु टोली इङ्ल्यान्ड शृंखलामा फर्कन सक्ने सम्भावना बलियो बनेको छ। ५ टेस्टको शृंखलामा भारत १-० ले अगाडि छ।
पहिलो पालीमा भारतलाई केवल ७८ रनमा समेटेको इङ्ल्यान्डले आफ्नो पहिलो पालीमा दोस्रो दिनको खेल समाप्त हुँदासम्म ८ विकेट गुमाएर ४ सय २३ रन जोडेको छ। एक सय २१ रन बनाएका रुटले खेल जिवनको २३ औँ टेस्ट सतक पुरा गरेका हुन्।
उनी इङ्ल्यान्डका लागि सर्वाधिक टेस्ट सतक बनाउने ब्याट्सम्यानको सूचीमा दोस्रो स्थानमा छन्। एलेस्टर कुकको नाममा ३३ टेस्ट सतक छ। इङ्ल्यान्डका केभिन पिटरसनले पनि २३ टेस्ट सतक बनाएका थिए।
रुटले कप्तान भएयता खेलेका ५५ टेस्टमा १२ पटक सतक बनाएका छन्। कप्तानका रुपमा उनले इङ्ल्यान्डका लागि धेरै टेस्ट सतक बनाउने कुककै कीर्तिमान पनि बराबरी गरेका छन्। रुटले सन् २०२१ मा मात्र ६ वटा टेस्ट सतक बनाएका छन्।
उनले एकै क्यालेन्डर वर्षमा सर्वाधिक टेस्ट सतक बनाउने इङ्लिस खेलाडीको कीर्तिमान पनि बराबरी गरे। सन् १९४७ मा ड्यानिस कम्पटनले र सन् २००२ मा माइकल भनले पनि समान ६ सतक बनाएका थिए।
कप्तानका रुपमा एउटै क्यालेन्डर वर्षमा सर्वाधिक सतक बनाउने खेलाडीमा रुटभन्दा अगाडि अस्ट्रेलियाका रिकी पोन्टिङ मात्र रहेका छन्। पोन्टिङले सन् २००६ मा ७ सतक बनाएका थिए। पोन्टिङसहित दक्षिण अफ्रिकाका ग्रेम स्मिथ र अस्ट्रेलियाकै स्टिभ स्मिथले पनि एकै क्यालेन्डर वर्षमा ६ टेस्ट सतक बनाएको इतिहास छ। रुटले भारतविरुद्ध सर्वाधिक टेस्ट सतक बनाउने खेलाडीको रुपमा पनि कीर्तिमान बराबरी गरेका छन्।
३० वर्षीय रुटले भारतविरुद्ध हालसम्म ८ टेस्ट सतक बनाएका छन्। यसअघि अस्ट्रेलियाका पोन्टिङ र स्टिभ स्मिथ तथा वेस्ट इन्डिजका भिभ रिचर्ड्स र गेरी सोबर्सले पनि भारतविरुद्ध ८र८ टेस्ट सतक बनाएका छन्। रुट इङ्ल्यान्ड र भारतबीच भएका टेस्टमा सर्वाधिक सतक बनाउने ब्याट्सम्यान पनि बनेका छन्।
रुटले सन् २०२१ मा एक हजार ३ सय ९८ टेस्ट रन बनाएका छन्। उनी एउटै क्यालेन्डर वर्षमा सर्वाधिक रन बनाउने इङ्लिस टेस्ट कप्तान पनि बनेका छन्। उनले कुकको कीर्तिमान तोडेका हुन्। कुकले सन् २०१५ मा खेलेका १४ टेस्टमा एक हजार ३ सय ६४ रन बनाएका थिए।