राँझा (बाँके), २८ चैतः आगामी वैशाख ५ गतेदेखि सुरु हुने लुम्बिनी कप अन्तरराष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगितामा आठ समूह सहभागी हुने भएका छन् ।
नेपालगञ्ज रङ्गशालामा हुने खेलमा नेपालका तीन विभागीय टोली, भारतको सिलगुडी फुटबल क्लबसहित आठ समूहको सहभागिता रहने आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बताउनुभयो । उहाँका अनुसार प्रतियोगितामा घरेलु टिम बाँके–११, सशस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली एफसी, सुदूरपश्चिम एफसी, सिलगुडी फुटबल क्लब, रौतहट जिल्ला फुटबल सङ्घ समूहले प्रतिस्पर्धा गर्नेछन् ।
बाँके जिल्ला फुटबल सङ्घको सहकार्यमा हुन लागेको प्रतियोगिताको विजेता टोलीले रु पाँच लाख पाँच हजार ५५५ र उपविजेता टोलीले रु दुई लाख ५० हजार, ट्रफी र मेडल प्राप्त गर्नेछन् । हरेक खेलमा उत्कृष्ट खेलाडी र प्रतियोगितामा विधागततर्फ उत्कृष्ट हुनेलाई पुरस्कृत गरिने अन्तरालका कार्यकारी निर्देशक शाहले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रतियोगिता हेर्नका लागि ‘सिजनल फुल प्याकेज’ रु एक हजार ५०० र विद्यार्थीका लागि सहुलियतमा टिकट व्यवस्था गरिएको छ । खेल हेर्नका लागि प्यारापिटअनुसार टिकटको व्यवस्था गरिएको छ ।
बाँके जिल्ला फुटबल सङ्घका अध्यक्ष भोजराज शाहीले पश्चिम नेपालमा महिला फुटबल खेलाडी उत्पादनमा लुम्बिनी कप महिला फुटबलले सहयोग गर्ने बताउनुभयो ।