भदौ ३०, २०८३ मंगलबार

महेन्द्रनगर, ३० भदौः उमेर ६३ वर्ष । कर्णबहादुर कठायत उहाँको नाम । कञ्चनपुरको खेलकुद र कर्णबहादुर एकअर्काका परिपूरकजस्तो छ । उहाँलाई नचिन्ने कमै होलान् ।

कभर्डहल परिसरको रेखदेखदेखि कार्यालय सरसफाइ गर्नु उहाँको दैनिकी हो । खेलकुदमा ‘कठायत दाइ’का नामले उहाँ परिचित हुनुहुन्छ । सबैको आदरणीय कठायत दाइ भने सेवा सुविधामा सधैँ पछाडि पर्दै आउनुभएको छ । 

“विसं २०४५ मा गार्डका रूपमा काम गर्न खेलकुद कार्यालयमा भर्ना भएँ”, उहाँले भन्नुभयो, “२०४८ सालमा खेलकुद खारेजीमा पर्यो । केही वर्षपछि जागिर पनि गयो । त्यो बेला मासिक रु १२ हजार तलब थियो ।”

जाजरकोटबाट दशकौँअघि बसाइँ सरेर कञ्चनपुरको महेन्द्रनगर आउनुभएका कठायतले जीवनका महत्त्वपूर्ण समय खेलकुद समितिलाइ खर्चिनुभयो । राष्ट्रिय खेलकुद परिषद्अन्तर्गतको जिल्ला खेलकुद समितिबाट उहाँले नियमसम्मत् सेवा सुविधा पाउन नसकेको बताउनुहुन्छ ।

“खेलकुद समितिले बस्नलाई कभर्डहल परिसरमै झोपडी बनाउन दियो । त्यही झोपडीमा तीन छोराको जन्म भयो”, उहाँले भन्नुभयो, “बिहान ४ः३० बजेदेखि बेलुकी ८ः०० बजेसम्म कर्भहलमा ड्युटी गर्नुपर्छ । रातिको समयमा पनि रेखदेखमा निस्किन्छु ।”

मेरो घर भने पनि यही हो, सेवा पनि यही हो, सर्वस्व नै यही हो, तर सुन्नुपर्ने र देख्नुपर्ने निकायले नदेखे पनि मैले आफ्नो कर्म आजसम्म छाडेको छैन”, उहाँले भन्नुभयो ।

खेलकुद समितिको कार्यालय सरसफाइदेखि हरेकजसो काममा सक्रिय हँुदै आउनुभएका कठायतले सेवासुविधा थपका लागि जिल्ला खेलकुदमा आउने हरेक नयाँ नेतृत्वसित गुहार माग्दै आए पनि सुनुवाइ नभएको गुनासो गर्नुभयो । 

“सरकारले हरेक क्षेत्रका कर्मचारीको न्यूनतम तलब तोकेको छ । मेरो त वर्षौँदेखि रु पाँच हजारभन्दा माथि गएन ।” खेलकुदकै जग्गामा राखेको चिया पसलले जीवन धानेको उहाँको भनाइ छ ।

“अहिले मेरो तलब रु पाँच हजार छ । नाति÷नातिनीको स्कुलको शुल्क नै रु पाँच हजार ५०० छ”, उहाँले भन्नुभयो, “ कार्यालय सहयोगीको काम गरेँ तर सेवा सुविधा भने सोअनुसार भएन ।”

वार्षिक पोशाक भत्ता भने पाइरहेको उहाँले बताउनुभयो । जिल्ला खेलकुद समितिको अध्यक्ष कृष्णदेव पन्त भएका बेला २०६४ सालमा उहाँको मासिक तलब रु पाँच हजार कायम गरिएको थियो । त्यसयता उहाँको तलब सुविधा थपिएको छैन ।

जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले कार्यालय सहयोगीका रूपमा कार्यरत कठायत पुराना कर्मचारी भएको बताउनुभयो ।     “उहाँ (कठायत)ले खेलकुदमा निकै दुःख गर्नुभयो । केही दशकअघि रु हजारमा पनि काम गर्नुभयो । अहिले उमेर बढी भएकाले नयाँ नियुक्ति दिन मिलेन”, कार्यालय प्रमुख भट्टले भन्नुभयो, “न्यून आयस्रोत भएको समितिले थोरै भए पनि तलब दिएका छौँ ।” उहाँले समितिको आयस्रोत निकै न्यून रहेको जानकारी दिनुभयो ।