भदौ ११, २०७८ शुक्रबार

काठमाडौँ — नेपाली क्रिकेट टोलीका प्रशिक्षक डेव ह्वाटमोरले राजीनामा दिएका छन् । प्रशिक्षक ह्वाटमोरले नेपाल क्रिकेट संघ (क्यान) लाई शुक्रबार इमेलमा आफ्नो राजीनामा पठाएका हुन् ।

व्यक्तिगत कारणले, घरायसी कारणले, परिवारलाई धेरै समय दिनुपर्ने हुनाले र कोभिड १९ का कारणले ओमान भ्रमणपछि आवद्ध हुन सक्दिन भन्ने आशयको उनले इमेल  पठाएको नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले बताएका छन् ।

६७ वर्षे ह्वाटमोर जनवरीमा मात्र नेपालको प्रशिक्षकमा नियुक्त भएका थिए । उनको डिसेम्बरसम्म क्यानसँग सम्झौता रहेको थियो । नेपाली टोली सेप्टेम्बर २० सम्मका लागि ओमान भ्रमणमा रहने छ । पपुवा न्यु गिनीसँग दुई एकदिवसीय अन्तरराष्ट्रिय खेलेपछि नेपालले ओमान र अमेरिकासँग लिग २ का खेलहरू खेल्दै छ ।