चैत २९, २०८१ शुक्रबार

तनहुँ, २९ चैतः पर्यटकीय गाउँ भुजिकोट क्षेत्रको प्रचार गर्न नयाँ वर्ष २०८२ को पहिलो दिन खुला उकालो दौड प्रतियोगिता हुने भएको छ । शुक्लागण्डकी नगरपालिका–२ स्थित अन्नपूर्ण युवा क्लब कोत्रेको आयोजनामा ‘दोस्रो भुजिकोट स्थानथोक राष्ट्रिय खुला उकालो दौड प्रतियोगिता’ हुन लागेको  हो । 

    खेलकुदका माध्यमबाट भुजिकोटसँगै समग्र वडामा पर्यटकीय गतिविधि सञ्चालन गर्न प्रतियोगिताको आयोजना गरिएको क्लबका पूर्वअध्यक्ष एवं कार्यक्रमका संयोजक खेम गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा १८ देखि ४५ वर्ष उमेर समूहका महिला र पुरुष सहभागी हुन पाउनेछन् । 

    पर्यटकीय क्षेत्र भुजिकोट, स्थानथोकसहित यहाँ रहेका पुराना सांस्कृतिक बस्ती, आदिवासी समुदायको संस्कृति, घरवास कार्यक्रम, ऐतिहासिकस्थलको अवलोकन र दृश्यावलोकनमार्फत यस क्षेत्रको प्रचार गर्न प्रतियोगिता सफल हुने संयोजक गुरुङको विश्वास रहेको छ । दौड प्रतियोगिताका साथै गुलेली हान्ने, कुखुराको भाले समाउने र सांस्कृतिक प्रस्तुति प्रदर्शनलगायतका कार्यक्रम सञ्चालन गरिने क्लबका अध्यक्ष अनिल खनालले बताउनुभयो । 

    देशभरका २०० धावक सहभागी हुने अपेक्षा आयोजकको रहेको छ । उहाँले प्रतियोगितामा उत्कृष्ट २० जनासम्मलाई मेडलमार्फत सम्मान गरिने बताउनुभयो । कार्यक्रमका प्रवक्ता तीर्थराज खनालले प्रतियोगितामा सहभागी भई विजेता हुने धावकलाई नगद तथा प्रमाणपत्र प्रदान गरिनेछ । प्रथमसहित पाँचौँसम्मका धावकलाई क्रमशः रु ३३ हजार ३३३, रु २२ हजार २२२, रु ११ हजार १११, रु पाँच हजार ५५५ र रु तीन हजार ३३३ नगदसहित सम्मान गरिने उहाँले जानकारी दिनुभयो । 

    कोत्रेचोकदेखि स्थानथोकसम्मको नौ किलोमिटरको दूरीमा प्रतियोगिता हुने जनाउँदै प्रवक्ता खनालले धावकको नाम दर्ताका लागि रु २५० शुल्क लाग्ने बताउनुभयो । उहाँले प्रतियोगिता सम्पन्न गर्न रु तीन लाख लागत अनुमान गरिएको जनाउनुभयो । 

    क्लबले यसअघि २०७५ मा पनि भुजिकोट उकालो दौड प्रतियोगिता सञ्चालन गरेको थियो । कोरोना महामारीलगायत विभिन्न कारणले रोकिएको प्रतियोगितालाई अब बर्सेनि निरन्तरता दिइने सो क्लबले जनाएको छ । शुक्लागण्डकी–२ भुजिकोट–स्थानथोकबाट पोखराका तालतलैयादेखि हिमालयका सुन्दर दृश्य, विभिन्न जिल्लाका दृश्यावलोकन, राष्ट्रिय फूल लालीगुराँसको अवलोकनका साथै रमणीय ग्रामीण परिवेश हेर्न सकिन्छ ।