असोज ५, २०८३ सोमबार

काठमाडौँ ५ असोजः जुडो खेलाडी उत्पादन गर्दैै आएको बन्दी सहायता नियोग (पाम)ले २०औँ एसियाली खेलकुदमा सहभागी हुने आफ्ना खेलाडीसहित जुडो टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरेको छ ।

    जापानको आइची/नागोयामा यही असोज ३ गतेदेखि सुरु भएको एसियाडमा जुडोबाट समान तीन-तीन पुरुष र महिला खेलाडीले नेपालको तर्फबाट चुनौती पेस गर्नेछन् । जुडो भने असोज १४ गतेदेखि सुरु हुनेछ । टोली असोज १० गते जापान जाने तालिका छ ।

    पुरुषतर्फ ६० किलोमुनि विकास विक, ६६ किलोमुनि विशेष विक र ९० किलोमुनि सुजन गुरुङले प्रतिस्पर्धा गर्नेछन् । महिलातर्फ ५२ किलोमुनि देवकीमाया श्रेष्ठ, ४८ किलोमुनि निशा श्रेष्ठ र ७० किलोमुनि पुनम श्रेष्ठ सहभागी हुनेछन् ।

    देवकी र विकासको यो दोस्रो एसियाड सहभागिता हो । बाँकीले पहिलोपटक एसियाड खेल्न लागेका पामले जनाएको छ । देवकी र निशा दिदीबहिनी तथा विकास र विशेष दाजुभाइ हुन् । प्रशिक्षकमा सुनिता मगर ताम्राकार छिन् । एसियाडमा सहभागी हुन सूचना प्रविधि विशेषज्ञ सुप्रसिद्ध ताम्राकार पनि जापान जानेछन् ।

    पामबाट सफल जुडो खेलाडी उत्पादनमा गर्नमा पामकै कार्यकारी निर्देशक रहेका प्रमुख प्रशिक्षक सूर्यनारायण श्रेष्ठको महत्वपूर्ण योगदान छ । सूर्यनारायणले पनि सन् १९९० मा चीनको बेइजिङमा भएको एसियाडमा प्रतिस्पर्धा गरेका थिए । टोलीलाई पामका कार्यवाहक अध्यक्ष कृष्णबहादुर श्रेष्ठ, ओलम्पियन ऋषिराम प्रधान र देबु थापा, जुडोका प्रमुख प्रशिक्षक वीरेन्द्र रन्जितलगायतले बिदाइ गरेका हुन् ।