काठमाडौं महानगरपालिका अहिले पञ्चेबाजा बजाउँदै कर नतिर्नेका घरघरमा पुगिरहेको छ । महानगरपालिकाका अनुसार करीब ७० करोड सम्पत्ति कर विभिन्न व्यावसायिक तथा सामाजिक संस्था र सरकारी कम्पनीहरूबाट असुल गर्न बाँकी छ । कर असुलीका लागि महानगरपालिकाले सूची सार्वजनिक गरेपछि कर उठ्न पनि थालेको छ ।
तर यसैबीच करीब डेढ महीनादेखि उपत्यकाबाट फोहोर उठ्न सकेको छैन । फोहोर नउठ्दा शहरवासी र आम व्यवसायी वर्ग नै समस्यामा परेको भन्दै धेरैले गुनासो गरेका छन् ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल सामाजिक संस्थाबाट समेत झ्याली पिटेर कर उठाउन जोडबल गरिरहेको महानगरपालिकाले हप्तौंदेखि फोहोर नउठाएको भन्दै असन्तुष्टि व्यक्त गर्छन् ।
अझै कति दिन फोहोर उठ्दैन भन्ने निधो नै नभएको काठमाडौं महानगरपालिकाका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठ बताउँछन् ।
श्रेष्ठका अनुसार झरी र हिलाले सडक अस्तव्यस्त भएपछि नुवाकोटको ओखरपौवा (सिसडोल) स्थित ल्यान्डफिल्ड साइटमा गाडी जान नसकेर फोहोर नउठेको हो । काठमाडौं महानगरपालिकाले सूचना नै निकालेर शहरवासीलाई फोहोर बाहिर ननिकाल्न भनेको छ ।
यसले गर्दा शहरवासीलाई घरभित्रै फोहोर राखेर दुर्गन्ध सहनुपर्ने बाध्यता आइपरेको छ । डेरामा बसेकाहरू झन् बढी समस्यामा छन् । होटल, रेस्टुरेन्टलगायतका बढी फोहोर निष्कासन गर्ने व्यवसायीहरू पनि ठूलो मर्कामा छन् । फोहोर कोठाभित्रै राख्न नसक्ने अवस्था आएपछि कतिपयले राति-राति चोक, गल्ली, सडक र नदी किनारमा फोहोर फालिरहेका छन् । यसले शहरमा दुर्गन्ध र प्रदूषण बढेको छ ।