चितवन १ वैशाख : जिल्लाका छुट्टाछुट्टै दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा पर्साको सकुहवा प्रसौनी गाउँपालिका–२ बस्ने अन्दाजी २५ वर्षीय लालबाबु पासवान रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार भरतपुर महानगरपालिका–४ सापकोटा चोक नजिक बाप्र ०६–००१ च ०३४९ नम्बरको कारले पैदलयात्री पासवानलाई ठक्कर दिएको थियो । आज बिहान कारको ठक्करबाट घाइते पासवानको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै रत्ननगर नगरपालिका–६ दाराहात्ती चोकमा जङ्गल सफारी गरिरहेको जीप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । ना४च ३३५५ नम्बरको जीप आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा जीपमा सवार तीन जना घाइते भएका हुन् । खनालका अनुसार जीपमा सवार अन्य सात जना सकुशल रहेका छन् । घाइते तीनै जनाको अजस्था खतरामुक्त रहेको उहाँले बताउनुभयो । जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।