ख्वप (भक्तपुर), ५ असोजः भक्तपुर नगरपालिकाले ज्येष्ठ नागरिकको हेरचाह, सम्मान र मानसिक स्वास्थ्य व्यवस्थापनका लागि ख्वप आदर निकेतन सञ्चालनमा ल्याएको छ ।
अँचा पोखरीमा ख्वप आदर निकेतन आजदेखि सञ्चालनमा आएको हो । पोखरी भक्तपुर नगरपालिका–६ महाकालीपीठमा पर्छ ।
भक्तपुर नगरपालिका–६ का वडाध्यक्ष हरिराम सुवालले परिवारमा हेरचाह गर्ने कोही नभएका ज्येष्ठ नागरिकको संरक्षण तथा हेरचाहका लागि आदर निकेतन आवश्यक रहेको बताउनुभयो ।
निकेतन बिहान ९ः३० देखि साँझ ५ः०० बजेसम्म सञ्चालन हुने उहाँले जानकारी दिनुभयो ।
निकेतनमा ज्येष्ठ नागरिकका लागि भजन, मनोरञ्जन तथा बौद्धिक गतिविधिसहितका कार्यक्रम सञ्चालन गरिने भएको छ ।
आदर निकेतनको नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छें ‘रोहित’ले उद्घाटन गर्नुभएको हो । उहाँले ज्येष्ठ नागरिक ज्ञानका खानी भएको बताउनुभएको छ । अध्यक्ष बिजुक्छेंले ज्येष्ठ नागरिकमा उमेर बढ्दै जाँदा स्मरणशक्ति कमजोर हुने भएकाले विशेष प्रकारको हेरचाह आवश्यक रहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उद्घान समारोहमा ज्येष्ठ नागरिकको हितमा काम गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।
हालसम्म २० जनाले नाम दर्ता गराइसकेका छन् । आदर निकेतनमा ३० जनासम्मको क्षमता छ ।