भदौ १३, २०७८ आइतबार

एजेन्सी - अहिले तालिबानी लडाकुहरू अमेरिकामै बनेको एम १६ राइफल बोकेर अमेरिकी फौजी गाडी हमभीमा बसेको देखिन्छ । फोब्र्सको आँकलनअनुसार अमेरिकाले अफगानिस्तान ८ लाख ८४ हजार ३ सय ११ वटा आधुनिक सैन्य उपकरण छाडेको छ । यसमा एम१६ राईफ,एम ४ कार्बाइन,८२ एमएम मोर्टर लन्चरजस्ता आधुनिक हतियार तथा हमभीजस्ता सैन्य वाहन,ब्ल्याक हक हेलिकप्टर,ए२९ लडाकु विमान,नाइट भिजन,सञ्चार सामाग्रीलगायत उपकरण छन् ।

२००३ पछि अफगानी सेना र पुलिसका लागि यी अत्याधुनिक उपकरण खरिद गरिएको थियो । फोब्र्सले अमेरिकी रक्षा विभाग पेन्टागनको लजिस्टिक्स एजेन्सी (डिएलए) को डाटाबेस अध्ययन गरेर यो तथ्याङ सार्वजनिक गरेको हो ।

तालिबानविरुद्ध ‘वार अफ टेरर’ छेडेको अमेरिकाले अफगानी सेना र पुलिसलाई हतियार तथा तालिम उपलब्ध गराउन ८३ अर्ब डलरभन्दा धेरै रकम खर्च गरेको थियो । अफगानिस्तानमा छुटेका सामाग्रीमा ५ लाख ९९ हजारभन्दा धेरै हतियार,७६ हजारभन्दा धेरै सैन्य वाहन र २ सय ८ सैन्य विमान छन् ।

विशेषज्ञहरूका अनुसार अफगानी सेना र सरकारको आत्मसमर्पणपछि यीमध्ये धेरै हतियार तालिबानको हातमा पुगेको छ । एउटा बलियो फौज खडा गर्नका लागि यी हतियार पर्याप्त छन् ।