काठमाडौं- वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदै छन् ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।
यसदिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।
तर, कोरोना भाइरसको महामारीका कारण यस वर्ष पनि अघिल्लो वर्षझैँ मठमन्दिर खुलेका छैनन् ।
अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको धार्मिक विश्वास छ ।
कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवत गीता’ पवित्र ग्रन्थ मानिन्छ ।
छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ । बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ ।
कृष्णजन्माष्टमीमा यस वर्ष सरकारले सार्वजनिक बिदा दिएको छ । २०६४ सालपछि कटौती गरिएको कृष्णजन्माष्टमीको बिदा फेरि दिइएपछि सनातन धर्मावलम्बीले सरकारप्रति कृतज्ञता व्यक्त गरेका छन् ।
कर्मबन्धनबाट छुट्ने आध्यात्मिक मार्ग के हो ?
दूरेण ह्यवरं कर्म बुद्धियोगाद्धनञ्जय ।
बुद्धौ शरणमन्विच्छ कृपणाः फलहेतवः
अर्थात्, हे अर्जुन ! ज्ञानयोगको अपेक्षामा सकाम कर्म योग अत्यन्तं तुच्छ वा कमजोर हुन्छ । अतः तिमी ज्ञानयोगकै आश्रय लेऊ । यही ज्ञान योगको माध्यमबाटै परमार्थ ज्ञानको प्राप्त गर्न सकिन्छ । धनञ्जय अवरं कर्म, निकृष्ट कर्म, वासनावाला कर्म बुद्धि योगबाट अत्यन्त दूर छ । फलको कामनाले गरिने जुनसुकै कर्मले आत्माको साथ उदारता देखाउन सक्दैन ।
यो श्लोक श्रीमद्भागवत गीताको दोस्रो अध्यायको ४९ औं श्लोकमा श्रीकृष्णले अर्जुनलाई भन्नुभएको हो । यसमा ज्ञान योग, सकाम कर्म योग आदिको बारेमा चर्चा गरिएको छ । कुनै पनि कुराको प्राप्तिको कामना राख्नु आफैंमा दुःखको जड हो । त्यो कुरा प्राप्त गर्ने समयमा पाउने दुःख एक ठाउँमा रह्यो । त्यसलाई भोग्नका लागि समेत अर्काे दुःख भोग्नुपर्छ । अतः यो श्लोकले ज्ञान योग र सकाम कर्मयोगको तुलना गर्दै ज्ञानयोगमा जानका लागि आग्रह गरेको छ ।
भगवान् श्रीकृष्णले ज्ञान मार्गलाई नै बुद्धियोग भन्नुभएको छ । गीतामा श्रीकृष्ण भन्नुहुन्छ ‘हे अर्जुन ! यो बुद्धि तिम्रा लागि ज्ञान योगको विषयमा भनिएको हो । यहाँ निस्काम कर्म योगलाई पनि बुद्धि योग भनिएको छ । वस्तुतः दुवैमा बुद्धिको कुरा आएको छ । दुवैमा बौद्धिकस्तरमा समत्व बनाइराख्नुपर्छ । त्यसकारण यसलाई समत्व बुद्धियोग भन्ने गरिन्छ । त्यसकारण धनञ्जय तिमी समग्र बुद्धि योगको आश्रय ग्रहण गर ।’
त्यसभन्दा अघिल्लो श्लोकमा भनिएको छ:
बुद्धियुक्तो जहातीह उभे सुकृतदुष्कृते ।
तस्माद्योगाय युज्यस्व योगः कर्मसु कौशलम् ।
ज्ञानी व्यक्तिले पुण्य र पाप दुवै यही जन्ममा नै त्यागेर जान्छ । अर्थात्, ज्ञानी व्यक्ति पुण्य र पापबाट समेत यही जन्ममा मुक्त हुन्छ । त्यसैले तिमी समत्वरूप योगमा नै स्थिर हुनुपर्छ । यही योग नै कर्मबन्धनबाट छुट्ने उपाय हो ।
प्रथम अध्याय गीताको प्रवेशिका हो, जसमा एउटा पथिकको चिन्तन समेटिएको थियो । तर दोस्रो अध्यायमा कर्म के हो ? सकाम र निष्काम कर्म के हो ? जस्ता जिज्ञासाको उत्तर खोजिएको छ । महाभारत युद्धमा लड्नेवाला त सबै कौरव र पाण्डव थिए । तर संशयका पात्र केवल अर्जुन मात्र थिए । अनुराग नै अर्जुन हो । इष्टको लागि अनुरागद्वारा नै क्षेत्र क्षेत्रज्ञको प्रतीत हुन्छ । अनुराग आरम्भिक स्तर हो । सद् गृहस्थाश्रममा रहेर पनि ग्लानी हुन लाग्यो भने सम्झनु कि त्यहीँबाट भजन आरम्भ गरे हुन्छ भन्ने श्रीकृष्णको उपदेश थियो । किनकि त्यो नै समाधिको पहिलो यात्रा हो ।
अनुरागको पहिलो चरणमा पारिवारिक मोह वाधक बन्दछ । पहिले सबै चाहन्छन् कि त्यो परम सत्यलाई प्राप्त गरौं । तर तर यही पारिवारिक मोहले नै ज्ञान मार्गलाई अवरोध गरिरहेको हुन्छ भन्ने गीतामा श्रीकृष्णको सन्देश छ ।
आफ्नो स्वार्थ पूर्तिका लागि वा मनअनुसार अघि बढ्नका लागि उसले प्रचलित रुढ कर्मलाई मान्छेले प्रस्तुत गर्दछ । त्यही काम अर्जुनले महाभारत युद्धमा गरे । कुल धर्म नै सनातन हो । युद्धबाट यसैको क्षय हुन्छ, त्यही कुल धर्मलाई सम्झिएर युद्धको मोर्चामा पुगेका अर्जुन फर्किन लागेका थिए । त्यसैलाई भगवान श्रीकृष्ण सद्गुरुको सानिध्यमा पुग्नुअघिको एउटा कुरीति मान्छन् । यही कुरीतिमा फसेर मनुष्य पृथकपृथक सम्प्रदाय, सानो ठूलो गुट र असंख्य जातिमा विभाजित हुन्छ ।
हिन्दु संस्कृतिमा भएको कतिपय संस्कार पनि यही कुरीतिमा फसेर चलाइएको देखिन्छ । कसैलाई छुँदा धर्म नष्ट हुन्छ भन्नु नै धर्मको नाममा हामी कुरीतिको शिकार भएको प्रमाण हो । ब्रह्म विद्याको यससँग कुनै सम्बन्ध थिएन । सम्प्रदाय र कुरीतिहरू पहिले पनि थियो, अहिले पनि छ । भगवान् श्रीकृष्णले समभावलाई नै योग भन्नुभएको छ । विषमता जसमा पैदा नै हुँदैन । त्यसैलाई समत्व योग भनिन्छ । यो योगमा काम नामको सर्वथा त्याग हुन्छ । त्यसैले यसलाई निस्काम कर्म योग भनिन्छ । कर्म गर्नुपर्छ । त्यसैले यसलाई सकाम कर्म योग पनि भन्ने गरिन्छ ।
यसलाई बौद्धिकस्तरमा ध्यान दिनुपर्छ । सिद्धि र असिद्धिमा समभाव हुनुपर्छ । फलको बासनाविना नै नयाँ कर्मको अभिलासा लिइन्छ । त्यसैले यसलाई बुद्धियोग पनि भन्ने गरिन्छ । साधकलाई मोक्षको समेत वासना हुनुहुँदैन भन्ने श्रीकृष्णको मत छ । किनकि वासनाबाट मुक्त हुनु नै मोक्ष हो । कुनै पनि साधकले फल पाएपछि त्यही फलमा उल्झन थाल्छ । उसको साधना समाप्त हुन्छ । त्यसपछि उसले भजन किन गर्ने ? अनि ऊ भड्किन थाल्छ ।