काठमाडौँ, २५ वैशाखः नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको आवश्कता, दिगो र सन्तुलित आर्थिक विकासलाई केन्द्रमा राखेर सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले मुलुकमा केही भएन भनेर स्थापित गर्न खोजिएको नकारात्मक भाष्यलाई खण्डन गर्न सकेको बताउनुभयो ।
नीति तथा कार्यक्रम जनता केन्द्रित रहेको भन्दै उहाँले विकासका लागि दीर्घकालीन रूपमा सार्थक प्रयास गरिनुपर्ने उल्लेख गर्नुभयो । उहाँले दलगत स्वार्थभन्दा माथि उठेर मुलुकलाई ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्नका लागि पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
पूर्वअर्थमन्त्रीसमेत रहनुभएका सांसद कार्कीले सूचना प्रविधिको क्षेत्रलाई राष्ट्रिय प्राथमिकताका साथ अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले कृषि क्षेत्रको विकासका लागि आधुनिक प्रणालीमा जोड दिनुपर्ने र रासायनिक मल कारखाना स्थापनाका लागि यथेष्ट बजेट विनियोजन गर्न सरकारलाई सुझाव दिनुभयो ।
आर्थिक विकासको महत्त्वपूर्ण आधारस्तम्भका रूपमा रहेको पर्यटन क्षेत्रको थप विकासका लागि सहज हवाई यातायातको प्रबन्ध गर्नुपर्नेमा सांसद कार्कीले जोड दिनुभयो । ठूलाठूला भवन बनाएर मात्रै शैक्षिक क्षेत्रको विकास हुन नसक्ने धारणा राख्दै उहाँले शिक्षा र स्वास्थ्यका लागि ठोस पहलकदमी लिन ढिलाइ गर्न नहुने बताउनुभयो । नाराले नभई सकारात्मक र सार्थक नीति लिएर मात्रै मुलुकलाई समृद्ध बनाउन सकिने उहाँको भनाइ छ ।
सांसद सुनिता बरालले सरकारको नीति तथा कार्यक्रमको सफलता र सार्थक कार्यान्वयनको कामना गर्दै आर्थिक कुटनीतिका विशेष योजना अगाडि बढाउन जरुरी रहेको बताउनुभयो । उहाँले नीति तथा कार्यक्रममा समावेश गरिएको युवा केन्द्रित स्टार्टअप उद्यमलाई यथेष्ट बजेटको प्रबन्ध गरी सहज कार्यान्वयनका लागि मार्ग प्रशस्त गर्नुपर्ने उल्लेख गर्नुभयो ।
मानव विकास र भौतिक विकासलाई सँगसँगै लिएर जानुपर्नेमा जोड दिँदै सांसद बरालले अनौपचारिक क्षेत्रमा काम गर्ने महिलाको क्षमतास्तरोन्नति गर्नेतर्फ पहल गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले नीति तथा कार्यक्रममा समावेश गरिएका कार्यक्रमलाई बजेटमार्फत कार्यान्वयनका लागि थप पहलकदमी लिनुपर्नेमा जोड दिनुभयो ।