असोज १, २०८३ बिहिबार

काठमाडौँ, १ असोजः परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको सभ्यतामाथि नै खतरा रहेको तथ्य संयुक्त राष्ट्रसङ्घमार्फत विश्व समुदायलाई जानकारी गराउने बताउनुभएको छ ।

आज साँझ परराष्ट्र मन्त्रालयमा पत्रकारहरूसँग अनौपचारिक अन्तक्र्रियाका क्रममा उहाँले भन्नुभयो, “जलवायु परिवर्तनबाट नेपाल र हामीजस्ता हिमाली देशहरू जोखिममा छन् । भोटेकोशीमा आएको हिमाली सुनामीबाट यो प्रमाणित भएको छ । यो तथ्यलाई हामी राष्ट्रसङ्घको आगामी महासभामा उठाउँछौँ ।”

मन्त्री खनालले भोटेकोशी बाढीको प्रकृति जलवायु परिवर्तनको असरबाहेक अरु केही हुन नसक्ने भन्दै यस प्रकारका प्रलयबाट नेपालमात्र नभई सिङ्गो हिमाली सभ्यता नै खतराको सूचीमा रहेको प्रामाणिक आधार महासभामा प्रस्तुत गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “आगामी महासभामा हाम्रो प्रमुख एजेण्डा नै जलवायु न्याय हो । हामी जलवायु परिवर्तनका कारण पीडित छौँ भन्ने वैज्ञानिक एवं प्रामाणिक तथ्यसहित प्रस्तुत हुन्छौँ र यही वास्तविकता विश्व समुदायसमक्ष राख्नेछौँ ।”

प्रधानमन्त्री वालेन्द्र शाहले नेपालका तर्फबाट महासभालाई सम्बोधन गर्नुहुनेछ । नेपाललाई नखाएको विष कसरी लागिरहेको छ र हामी दिनप्रतिदिन जलवायु परिवर्तनको सिकार के–कसरी भइरहेका छौँ भन्ने तथ्य उहाँले प्रस्तुत गर्ने जानकारी पनि मन्त्री खनालले दिनुभयो ।

नेपालले विगत लामो समयदेखि राष्ट्रसङ्घसहित विभिन्न अन्तरराष्ट्रिय मञ्चहरूमा नेपाल जलवायु न्यायको भागिदार रहेको दलिल पेस गर्दै आएको उल्लेख गर्दै मन्त्री खनालले आगामी दिनमा जलवायु कूटनीतिका माध्यमबाट यसलाई संस्थागत गर्ने र नेपालभित्र पनि अन्तरसरकारी संयन्त्रमार्फत जलवायु कूटनीतिको क्षेत्रलाई बलियो बनाइने उल्लेख गर्नुभयो ।

मन्त्री खनालले जलवायु परिवर्तनको असरबाट जोखिममा परेका साना तथा टापु एवं पहाडी राष्ट्रहरूको साझा गठबन्धन बनाएर त्यसको नेतृत्व गर्दै नेपालले जलवायु कूटनीतिको वकालत गर्ने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “पहिले–पहिले साना, टापु तथा पहाडी राष्ट्रहरु जलवायु परिवर्तनबाट समुद्री देशहरूमात्र प्रभावित हुन्छन् भन्ने सोचमा थिए । तर अहिले जलवायु परिवर्तनको असर केवल समुद्री सतह बढ्नेमात्र नभएर हामीजस्ता देशमा नै बढी देखिएकाले यस प्रकारको गठबन्धनका साथ अगुवाइ एवं कूटनीतिक पहल गर्न जरुरी देखिएको छ ।”

आफू महासभामा सहभागी हुने क्रममा कैयौँ ‘साइडलाइन’ भेटघाटमा व्यस्त रहने र त्यस क्रममा भोटेकोशी बाढीका कारण भएको क्षतिका बारेमा जानकारी गराएर सहयोग र पुनर्निर्माणका लागि आग्रह गर्ने जानकारी मन्त्री खनालले दिनुभयो ।

नेपालजस्ता देशले अब ऋणको बोझ धेरै बोक्न नसक्ने स्पष्ट गर्दै विश्व समुदायसमक्ष सहयोगका लागि अपिल गर्ने उहाँको भनाइ थियो । 

त्यस क्रममा परराष्ट्र सचिव अमृतबहादुर राईले नेपालले यसपटक जलवायु न्यायका पक्षमा विश्व समुदायसमक्ष वकालत गर्ने जानकारी दिनुभयो । सो सम्बन्धमा नेपालले एक अलग्गै उच्चस्तरीय कार्यक्रमको आयोजना गरेको जानकारी दिनुभयो ।

परराष्ट्र प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जलवायु परिवर्तनको जोखिम दिनप्रतिदिन बढ्दै गएकाले नेपालले जलवायु कूटनीतिलाई कूटनीतिको नयाँ आयामका रूपमा विश्वव्यापी रूपमा विस्तार गर्दै लैजाने बताउनुभयो ।

राष्ट्रसङ्घको आसन्न ८१औँ महासभाका लागि प्रधानमन्त्री शाह यही सेप्टेम्बर २२ मा न्युयोर्क प्रस्थान गर्ने र २४ मा महासभालाई सम्बोधन गर्नुहुने कार्यक्रम छ । उहाँ २६ सेप्टेम्बरमा स्वदेश फर्कनुहुनेछ ।

त्यसैगरी, परराष्ट्रमन्त्री खनाल यही सेप्टेम्बर २० मा न्युयोर्क प्रस्थान गर्ने र ३० मा स्वदेश फर्कनुहुने कार्यक्रम छ ।