फागुन २३, २०७७ आइतबार

एजेन्सी

एजेन्सी : जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिखले घरेलु मैदानमा बोरुसिया डर्टमुण्डलाई हराएको छ । 

शनिबार भएको खेलमा बायर्नले डर्टमुण्डलाई ४–२ गोलले हराएको हो । बायर्नको जितमा रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक गरेका थिए भने लियोन गोरेट्ज्काले एक गोल गरे । डर्टमुडका लागि इयर्लिङ ब्राउल्ट हालाण्डले दुई गोल गरेका थिए ।

खेलमा डर्टमुण्डले सुरुवाती अग्रता बनाएको थियो । खेलको दोस्रो मिनेटमा नै हालाण्डले गोल गर्दै पाहुना टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । नवौँ मिनेटमा हालाण्डले दोस्रो गोल गर्दै डर्टमुण्डको अग्रता दोब्बर बनाए ।


२६औँ मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई खेलमा फर्काउने प्रयास गरे । ४४औँ मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमा गोल गर्दै बायर्नलाई खेलमा फर्काए ।

८८औँ मिनेटमा गोरेट्ज्काले गोल गर्दै बायर्नलाई अग्रता दिलाए भने ९०औँ मिनेटमा लेवान्डोस्कीले गोल गर्दै ह्याट्रिक पूरा गरे र बायर्नलाई ४–२ गोलले जिताए ।

उक्त जितसँगै बायर्नले २४ खेलमा ५४ अंक जोडेको छ । ऊ शीर्ष स्थानमा छ । डर्टमुण्ड भने २९ अंकका साथ छैटौँ स्थानमा छ ।