भदौ १६, २०७८ बुधबार

गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालाको काम सुस्त हुँदै गएको छ ।
धुर्मुस–सुन्तली फाउन्डेशनले भरतपुर महानगरपालिकासँग समन्वय गरेर रंगशाला निर्माणको काम गरिरहेको छ । फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेलले आर्थिक अभावमा काम अघि बढ्न नसकेको बताए। सामान्य जनशक्तिले काम गरिरहेको भन्दै उनले साउन लागेयता आर्थिक अभावका कारण काममा बाधा पुगेको बताए।

दैनिक तीन सय १३ जनासम्म जनशक्तिले काम गर्दै आएकामा रंगशालामा आर्थिक अभावका कारण हाल दैनिक ३०-३५ जनाले मात्रै काम गर्दै आएका छन्। त्यो जनशक्ति पनि नियमित छैन।

रंगशालामा हालसम्म रु ५३ करोड बराबरको काम भएको छ जसमध्ये रु १६ करोडभन्दा बढी तिर्न बाँकी रहेको लेखा प्रमुख मुक्ति तिमिल्सिनाले जानकारी दिए।

अध्यक्ष कट्टेल दैनिक तीन सय १५ जनासम्म जनशक्तिले काम गर्दा रंगशालाको धेरै काम गर्न सकेको बताउँछन्।

गत वर्षको साउन १ गतेबाट एक वर्षको अवधिमा ३५ प्रतिशत काम भएको भन्दै उनी आर्थिक अभाव नभएको भए ५० प्रतिशत काम सम्पन्न गरिसक्ने बताउँछन्।

रकम जुटेमा आउँदो एक वर्षमा रंगशाला सम्पन्न हुने उनको भनाइ छ । हाल भुई र प्याराफिटको फिनिसिङको काम भइरहेको छ। बजेट भएको भए ढलानका काम अघि बढ्ने उनी बताउँछन्। 
 
केही समययता काठमाडौँमा आर्थिक सहयोग जुटाउन आफू लागिपरेको उनले जानकारी दिए। अर्थमन्त्री, खेलकुद मन्त्रालयलगायतका निकायमा आर्थिक सहयोग जुटाइदिन आफूले पहल गरिरहेको उनको भनाइ छ ।
 
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले नयाँ अर्थमन्त्री आएसँगै रंगशाला, नारायणी नदी तटबन्धन र महानगरको प्रशासनिक भवनका लागि बजेट माग गरी पत्राचार गरिएको बताइन्।

भरतपुर महानगरपालिका–१५ रामपुरमा बाइस बिघा १६ कट्ठा पाँच धुर जग्गामा रंगशाला निर्माण गरिँदै छ । विस्तृत परियोजना प्रतिवेदनमा एक लाख ५४ हजार पाँच सय ६ वर्ग मिटरमा रंगशाला निर्माण गर्ने र त्यसभित्र ३० हजार मानिस बसेर खेल अवलोकन गर्नसक्ने जनाइएको छ।