भदौ १६, २०७८ बुधबार

काठमाडाैं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानहरूमा बाढी/पहिराका कारण जनजीवन प्रभावित भएका ईलाकाहरूमा नेपाली सेनाको जनशक्ति तथा श्रोत साधन प्रयोग गरी खोज तथा उद्धार कार्य सञ्चालन गरिएको नेपाली सेनाकाे जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएकाे  छ ।


सिरहा जिल्ला गोलबजार नगरपालिका - ९ स्थित घुर्मी खोलामा आएको बाढीले डण्डा ईलाकामा कटान गरी डण्डा टोललाई प्रत्यक्ष असर गर्न सक्ने भएकाले उक्त जोखिमलाई न्यूनीकरण गर्न नेपाली सेनाको उद्धार टोलीले कटान भएको स्थानमा ७०० बोरा माटो भरी थप कटान हुनबाट जोगाउन तटबन्ध निर्माण कार्य गरेको छ ।


यस्तै रुपन्देही जिल्लास्थित तिनाउ नदीको बहाव बढेसँगै नदीले बुटवल उपमहानगरपालिका - ११ बुद्धनगर क्षेत्र वरपरको नदी किनारामा रहेका बस्तीहरूमा कटान गरी सो क्षेत्र आसपास बसोवास गर्ने घरहरु जोखिममा परेको हुँदा नेपाली सेनाको उद्धार टोलीद्वारा नदीले क्षति पुर्‍याएका स्थानहरूमा खटिएर उद्धार कार्य गरेको सेनाले जानकारी दिएकाे छ  ।

साथै, सेनाकाे उक्त टोलीद्वारा तिनाउ नदीको बहावले कटान गरेको क्षेत्रमा १५ वटा ग्याविन जालीमा ढुङ्गा भरी कटान हुन सक्ने सम्भावनालाई न्यूनीकरण पनि गरेको छ ।


त्यसैगरी कोशी नदीको सतह बढ्न गई सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका - ६ ठाकुरबाढी नजिक रहेको गरिइया टापुमा बसोबास गर्ने स्थानीय बासिन्दाहरू खोला तर्न नसकी फसेको हुँदा नेपाली सेनाको उद्धार टोलीद्वारा OBM Boat, Raft Boat र अन्य सामाग्रीहरू प्रयोग गरी उक्त ईलाकामा फसेका स्थानीय बासिन्दाहरूको उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको बताएकाे छ ।


तेह्रथुम जिल्लाको छथर गाउँपालिका -६ बस्ने गैह्रसैनिक व्यक्ति टेकबहादुर थापाको श्रीमती बर्ष ३२ की बविता भुजेल थापा सुत्केरी ब्यथाका कारण २०७८ भदाै १४ गते छथर अस्पतालमा उपचार भइरहेकामा अत्याधिक रक्तश्राव भएका कारण थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरद्वारा कोशी अञ्चल अस्पताल, विराटनगर लगिएको सेनाले जानकारी दिएकाे छ  ।