न्युजिल्यान्डसँगको पहिलो टी–२० खेलमा बङ्गलादेश सात विकेटले विजयी भएको छ ।
न्युजिल्यान्डले दिएको ६१ रनको सामान्य लक्ष्य बङ्गलादेशले १५ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो । बङ्गलादेशका शाकिब अल हसनले २५ रन बनाए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्ड १६ ओभर पाँच बलमा अलआउट हुँदै ६० रनमा सीमित भयो । न्युजिल्यान्डका टम लाथम र हेनरी निकोलसले समान १८–१८ रन बनाए पनि अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।
बलिङतर्फ बङ्गलादेशका मुस्ताफिजुर रहमानले तीन विकेट लिँदा नसुम अहमद, शाकिब अल हसन र मोहम्मद सइफुद्दिनले दुई–दुई विकेट लिए ।
जितसँगै बङ्लादेशले पाँच खेलको शृङ्खलामा एक–शून्यको अग्रता लिएको छ । पाँच खेलको टी–२० शृङ्खला खेल्न न्युजिल्यान्ड बङ्गलादेश भ्रमणमा छ ।