काठमाडौं, भदौ १६ गते । नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल खेलमा दर्शकको उपस्थिति रहने भएको छ । नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले तय गरेको मापदण्ड र अन्तरराष्ट्रिय फुटबल महासंघ(फिफा)को मापदण्डबमोजिम दर्शकको उपस्थितमा खेल हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ(एन्फा)ले राष्ट्रिय खेलकुद परिषद्(राखेप) हुँदै युवा तथा खेलकुद मन्त्रायलमा दर्शकसहित खेल खेलाउन प्रस्ताव गरेको थियो । एन्फाका अध्यक्ष कर्मा छिरिङ्ग शेर्पाले नेपाल सरकार मन्त्रीपरिषद्ले एन्फाको प्रस्ताि स्वीकृत गरेको जानकारी दिए । तर रङशाला प्रवेशका लागि मापदण्ड निर्धारण गरिएको छ ।
मापदण्डबमोजिम रङशाला प्रवेश गर्ने दर्शकले कम्तीमा कोभिड १९ विरुद्धको दुवै खोप लगाएको हुनुपर्ने, खोप नलगाएको अवस्थामा पीसीआर परीक्षणको प्रतिवेदन निगेटिभ हुनुपर्नेछ । एन्फाका अध्यक्ष शेर्पाले नेपाल र भारतबीचको खेलमा पाँच हजार एक सय दर्शक उपस्थित हुने बताए । भिडभाड कम गर्न पाँच वटै प्रवेश द्वारबाट रङशाला प्रवेश गर्ने व्यवस्था मिलाइने छ । मैत्रीपूर्ण फुटबल अन्तगर्तको पहिलो खेलमा नेपालले बिहीबार साँझ घरेलु मैदान दशरथ रङशालामा भारतको सामना गर्नेछ ।