भदौ १७, २०७८ बिहिबार

उत्तर कोरियाले आफूलाई दिन लागेको लगभग ३० लाख कोभिड–१९ को भ्याक्सिन अरू कसैलाई दिन भनेको छ ।  थुप्रै देश कोभिड महामारीले नराम्रोसँग थलिएको र अन्तरराष्ट्रिय स्तरमा कोभिड भ्याक्सिनको कमी पनि भइरहेको स्थितिमा उत्तर कोरियाले यस्तो बयान सार्वजनिक गरेको हो ।

यी भ्याक्सिन अन्तरराष्ट्रिय कोभ्याक्स कार्यक्रमअन्तर्गत उत्तर कोरियालाई दिन लागिएको थियो । यो चीनमा बनेको सिनोभ्याक भ्याक्सिन थियो । कोभ्याक्स कार्यक्रमको उद्देश्य संसारका गरिब देशलाई भ्याक्सिनको आपूर्ति गर्नु हो । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले १९ अगस्टसम्म उत्तर कोरियाले कोभिड–१९ का कुनै संक्रमित दर्ता गरेको छैन । डब्ल्यूएचओले आफ्नो साप्ताहिक रिपोर्टमा ३७,२९१ व्यक्तिको (जसमा स्वास्थ्यकर्मी र ती मानिसहरू समावेश थिए जसलाई फ्लूजस्तो लक्षण देखिएको थियो) परिक्षण गरिएको थियो र यी सबैको परीक्षण नेगेटिभ आएको छ ।

उत्तर कोरियामा कोभिडको स्थितिबारे कहिल्यै खासै स्पष्ट जानकारी प्राप्त भएन । उत्तर कोरियाले महामारीको सुरुवातदेखि नै कडा नीति अपनाएको दाबी गरेको छ । अघिल्लो वर्ष कोरोना महामारी सुरु भएसँगै आफ्नो सीमा बन्द गर्ने पहिलो देशमध्ये एक थियो उत्तर कोरिया । उत्तर कोरियाले भ्याक्सिन लिन अस्विकार गरेको यो पहिलो घटना होइन । यसअघि जुलाईमा सम्भावित दुष्प्रभावलाई उद्धृत गर्दै उत्तर कोरियाले एस्ट्राजेनेका भ्याक्सिनको लगभग दुई लाख डोज लिन अस्विकार गरेको थियो ।

रुसका विदेशमन्त्री सर्गेई लावरोवले जुलाईमा पत्रकार सम्मेलनमा रुसले थुप्रै पटक उत्तर कोरियालाई रुसमा बनेको स्पुतनिक भ्याक्सिनको आपूर्तिको प्रस्ताव गरिसकेको बताएका थिए । उत्तर कोरियाले कोभिड–१९ खोपको प्रभावमाथि पनि शङ्का जताएको छ । उत्तर कोरियाको सरकारी मिडिया धेरैजसो ती खबरलाई प्रमुखताका साथ छाप्ने गर्छ जसमा अमेरिका वा युरोपमा भ्याक्सिनको नकारात्मक प्रभावको कुरा हुने गर्छ ।