भदौ १७, २०७८ बिहिबार

नेपाल र भारतबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेलमा तेज तामाङले म्यान अफ दि म्याचको अवार्ड पाएका छन् । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र हाम्रो फुटबल नेपालका अध्यक्ष कृष्ण गुरुङले उक्त अवार्ड संयुक्त रूपमा प्रदान गरे ।

यस्तै, नेपाल र भारतबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल एक–एक गोलको बराबरीमा टुङ्गिएको छ । खेलको ३६ औँ मिनेटमा अञ्जन विष्टले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । तर, नेपालले आफ्नो अग्रता दोस्रो हाफमा गुमायो । 

दोस्रो हाफको ६० मिनेटमा सुनिल क्षेत्रीको सटलाई नेपालका गोलकिपर किरण चेम्जोङले निकै उत्कृष्ट बचाउ गरे । तर, रिबाउन्ड प्राप्त मौकालाई अनुरुद थापाले चुकाएनन्, उनले गोल गर्दै भारतलाई बराबरीमा फर्काए । ५१ सयको हाराहारीमा दर्शकहरू उपस्थित भएको खेलमा दुवै टोलीले उत्कृष्ट खेल देखाएका थिए ।  नेपाल र भारतबीच अब अर्को खेल आइतबार दशरथ रङ्गशालामै हुनेछ ।