फागुन २३, २०७७ आइतबार

 नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै सडकखण्डअन्तर्गत चारकिलोमा पहिरो रोकथामका बाँकी काम सम्पन्न गर्नका लागि सडक बन्द गर्न लागिएको जनाएको छ । पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्नका लागि नारायणगढ–मुग्लिन सडकखण्ड एक हप्ता दिउँसो बन्द गरिने भएको छ  । आजदेखि २९ गतेसम्म एक हप्ता दिउँसो सडक बन्द गर्न लागिएको हो ।


ईन्जिनियर सविना रानाभाटका अनुसार सडकखण्डमा बिहान १०ः३० देखि दिउँसो ३ः०० बजेसम्म दुईतर्फी आवागमन बन्द गरिने भएको छ । उनले अत्यावश्यक सेवाबाहेक सबै सवारी साधन रोकिने बताइन् । असार पहिलो साता पहिराले बगाएको क्षेत्रमा काम गरिने रानाभाटले जानकारी दिइन् । सडकखण्डमा ८५ प्रतिशत पहिरो रोकथामको काम सकिएको आयोजनाले जनाएको छ ।


सो अवधिमा नारायणढतर्फबाट गएका सवारी साधनलाई जलबिरेमा र मुग्लिनतर्फबाट आएका सवारी साधनलाई शान्तिबजारमा रोकिने छ ।उक्त अवधिमा वैकल्पिक सडकमार्ग प्रयोग गर्नसमेत नारायणगढ–मुग्लिन सडक आयोजनाले अनुरोध गरेको छ ।