सरकारले झण्डै दुई महिनापछि नेपाल प्रहरीका अतिरिक्त महानिरिक्षक-एआईजी सहकुल थापाले जिम्मेवारी पाएका छन्।
मन्त्रिपरिषद्को पछिल्लो बैठकले थापालाई कार्य विभागमा पदास्थापन गरेको हो। यसअघि ओली सरकारले एउटा एआईजी दरबन्दी थप गरी त्यसमा थापालाई बढुवा गरेको थियो। उनले असार २८ गते एआईजीको दर्ज्यानी चिन्ह लगाएका थिए। त्यसपछि सरकारले एआईजीहरुको सरुवा तथा पदस्थापन निकालेको थियो।
प्रहरी प्रधान कार्यालयमा रहेको कार्य तथा अपराध अनुसन्धान विभागलाई अलग गरी ओली सरकारले दरबन्दी सिर्जना गरेपनि देउबा सरकार आएलगत्तै एआईजीको सरुवा रोक्ने निर्णय भएपछि थापा प्रहरी महानिरीक्षकको सचिवालयमा हाजिर गरेर बसिरहेका थिए। दुई महिना बित्न लाग्दासमेत थापालाई कुनै जिम्मेवारी दिइएको थिएन।
सरकारले गरेको सरुवा अनुसार प्रहरी एकेडेमीमा निरज शाही, अपराध अनुसन्धानमा प्रधुम्न कार्की र मानव स्रोतमा विश्वराज पोखरेललाई जिम्मेवारी दिइएको छ। हरि पाललाई भने महानगरीय प्रहरी कार्यालयमै यथावत राखिएको छ।
आगामी बैशाख १८ गतेबाट वर्तमान आइजिपी शैलेश थापासहित शाही, कार्की र पालले अनिवार्य अवकाश पाउँदैछन्। त्यसपछि पोखरेल र थापामध्ये एक जना नेपाल प्रहरीको महानिरीक्षकमा बढुवा हुने छन्।