काठमाडौँ — दार्चुलास्थित महाकालीवारि नेपाली आकाशमा भारतीय पक्षले अनधिकृत उडान गरेको विरोधमा विद्यार्थीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । सत्ता पक्ष नेकपा (एस) निकटका विद्यार्थी संगठन अनेरास्ववियुले राजधानीमा प्रदर्शन गरेको हो ।
महाकालीमा बेपत्ता भएका जयसिंह धामीको खोजबिनका लागि गृह मन्त्रालयको टोलीले महाकाली नदीको पल्लो किनारमा पनि ड्रोन उडाउन खोज्दा भारतले असहयोग गरेको थियो ।
साउन १५ मा बेपत्ता भएका जयसिंहको खोजबिन गर्न ‘ड्रोन’ क्यामेरा उडाउन अनुमति माग्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले साउन २३ मा पठाएको अनुरोधपत्रको जवाफ अझै आएको छैन । बेपत्ता नागरिकको खोजीमा महाकाली किनारमा ‘ड्रोन’ उडाउनसमेत नदिने भारतले भने महाकालीवारि दार्चुला सदरमुकाम खलंगा बजारमाथि पटक–पटक हेलिकोप्टर उडाउन थालेको छ ।