भदौ २०, २०७८ आइतबार

काठमाडौँ– चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले विश्व शान्ति, सद्भाव र समानताका लागि संयुक्त राष्ट्रसंघको कार्यालय, न्यूयोर्कमा शान्तिपूर्ण प्रदर्शन गर्ने भएका छन्।

डा. केसीले विज्ञप्ति जारी गर्दै आगामी सेप्टेम्बर २० र २१ मा संयुक्त राष्ट्र संघको कार्यालयअघि हुने प्रदर्शनमा सहभागी हुन आह्वान गरेका हुन्।

‘सेप्टेम्बर २०२१ विश्व शान्ति दिवस हो। यसै समयमा संयुक्त राष्ट्र संघको महासभा पनि बस्दै छ। विश्वमा फैलिएको द्वन्द, पर्यावरणीय विनास, सबैका लागि स्वास्थ र शिक्षा तथा कोभिडको खोपका विषयमा विश्वको ध्यानाकर्षण गराउने उदेश्यले अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्र संघको मुख्यालय भवन नजिकैको क्षेत्रमा शान्तिपूर्ण प्रदर्शन गरिने भएको हुँदा सक्रियतापूर्वक भाग लिन म अमेरिकामा रहेका सम्पूर्ण नेपाली समुदायलाई संस्थागत तथा व्यक्तिगत रूपमा हार्दिक अपील गर्छु,’ विज्ञप्तिमा उल्लेख छ।

जलवायु कार्य र जलवायु न्याय, सबैका लागि कोभिड खोपसहित सबैका लागि स्वास्थ्य र शिक्षा, यमन, सोमालिया, दक्षिण सुडान, इथियोपिया, सिरिया, र मध्य अफ्रिकी गणतन्त्र लगायत युद्धग्रस्त देशहरूमा स्थायी शान्ति स्थापना गर्न सबै देशले भूमिका खेल्नु पर्ने र म्यानमार, अफगानिस्तान, यमन इथियोपिया सोमालिया दक्षिण सुडानलगायत अन्य देशका शरणार्थीहरूलाई न्यायिक र मानवीय सहायता गर्नुपर्नेलगायतका माग गर्दै प्रदर्शन आयोजना गरिएको हो।

विज्ञप्तिको पूर्णपाठः
आदरणीय नेपाली दाजुभाइ–दिदीबहिनी तथा सञ्चारकर्मी मित्रहरू,

विषय– विश्व शान्ति, सद्भाव र समानताका लागि संयुक्त राष्ट्र संघको कार्यालय, न्यूयोर्कमा आयोजना गरिने शान्तिपूर्ण प्रदर्शनमा सहभागिताका लागि अनुरोध।

हामी एक दशकदेखि नेपालको स्वास्थ्य तथा चिकित्सा शिक्षाको सुधार र सुशासनका लागि लडिरहेको विदितै छ । हाम्रो सत्याग्रह आन्दोलनमा नागरिक समाजका सदस्यहरुको पनि सहयोग र सद्भाव रहँदै आएको छ । सबैका लागि गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षामा न्यायोचित पहुँच सुनिश्चित गर्नु नै हाम्रो आन्दोलनको उदेश्य रहेको छ । नेपालका पछिल्ला सरकारहरुबाट भएका अनेक अवरोध र धोखापूर्ण कार्यका बावजुद पनि हाम्रो सत्याग्रह मार्फत स्वास्थ्य तथा शिक्षा क्षेत्रहरुमा केही महत्वपूर्ण उपलब्धिहरु हासिल गर्न देश सक्षम भएको कुरा म निवेदन गर्न चाहन्छु ।

यसै क्रममा १९ औं पटकमा २५५ दिन अनशन आन्दोलनका रूपमा सत्याग्रह गर्नु परेको थियो।

नेपालको समग्र स्वास्थ्य शिक्षा तथा सेवाको सुधारका अभियानलाई निरन्तरता दिदैं विगत दुई दशकदेखि विश्वका अन्य धेरै देशहरुमा भएका प्राकृतिक र मानव निर्मित प्रकोपका बेला मानवीय राहत कार्यमा पनि म निरन्तर संलग्न रहदै आएको कुरा पनि म स्मरण गराउन चाहन्छु ।

यसै क्रममा युद्धग्रस्त यमनका जनताहरुलाई तीन महिना सेवा दिएर भर्खरै फर्किएको छु । म्यानमारबाट विस्तापित रोहिंग्या शरणार्थीहरुलाई बंगलादेशमा सन् २०१९(२०२० मा सेवा गर्ने अवसर पनि पाएँ । सन् २०१९ अफ्रिकाको मोजाम्विकमा आएको साइक्लोन इदाइका पीडित जनतालाई एक महिना राहत–सेवा पुर्याउने अवसर पाएँ । भारतको बद्रीकेदार बाढीपहिरो (सन् २०१३) पीडितको सेवामा रहँदा मृत्युको मुखबाट बच्न सफल भएँ । अन्य मानवीय कार्यमा फिलिपिन्सको टाक्लोबानको टाइफुन हैयान (सन् २०१३), हेटीको विनाशकारी भूकम्प (सन् २०१०) भारत गुजरातको महाभूकम्प (सन् २००१), पाकिस्तान नियन्त्रित कास्मिरको महाभूकम्प (सन् २००५), वर्माको आँधिबेरी साइक्लोन नर्गिस (सन् २००८) र पाकिस्तानको बाढीको विपद् (सन् २०११) का बेला पनि मानवसेवा–धर्म गर्नु मेरो कर्तव्य ठानेँ।

यो पनि स्मरण रहोस्, नेपाल आफैंले एक दशक लामो सशस्त्र संघर्षको सामना गर्नुपरेको थियो । जसमा हजारौं मानिस मारिए, धेरै घाइते र लाखौं विस्थापित भए । त्यो दुर्दान्त सयममा पनि घाइतेहरुको उपचारमा म संलग्न भएको कुरा पनि विदितै छ भन्ने लागेको छ ।

विश्वमा घटेका कहालिलाग्दा त्रादस घटनाको प्रत्यक्षदर्शी बन्नुले मानविय द्वन्दका कुरुपतासँगै दैवीय विनाश र त्यसबाट सृजित पीडा, निराशा र भयावहताको नजिकबाट अनुभव गर्ने मौका पाएँ । यस्तै बेलमा हामीले अनुपम मानवीय करुणा, माया र आशाको दीयो बाल्नु पर्छ भन्ने ठानेर देश–देशावर पुगेँ।

मैले नेपालका सुगममात्र हैन अनेक दूर्गम ठाउमा बसोवास गर्ने निसहाय जनताको सेवाका लागि पटकपटक भ्रमण गरेँ । राहत–सेवा र अध्ययन भ्रमणका क्रममा संसारमा भएको वातावरणीय विनाश र जलवायु संकटको प्रभावलाई पनि नजिकबाट नियाल्ने मौका पाएँ। संसारका सम्पूर्ण मावन तथा पशुप्राणीका लागि विनाशक बन्दै गएको जलवायु विनाशको यो विश्वव्यापी समस्याको सबैभन्दा बढी कष्ठ गरीवीमा बाँच्न वाध्य मानिसले नै भोग्नु परेको अनुभव गरेँ।

म यहाँ अर्को एउटा कुरा पनि ध्यानाकृष्ट गराउँन चाहन्छु– म आफैं पनि ‘कोभिड निमोनिया’ संक्रमित भएको थिएँ। आज म जस्तै धेरै डाक्टर, स्वास्थकर्मी र सर्वसाधरण मृत्युवरण गर्न वाध्य भए। यसको प्रमुख कारण खोपको अभाव नै थियो । अहिले पनि विकासशील देशहरुमा ९०५ भन्दा बढी मानिस अझै पनि कोभिड खोपको पहुँचबाट वञ्चित छन् । यो निराशाजक अवस्थामा विकसित देशहरु आफ्ना नागरिकका लागी ‘बूस्टर जाब’ तिर लागेका छन् । खोप वितरण प्रणालीको यो असमानतालाई अन्याय मात्र हैन रंगभेदको रूपमा पनि तुलना गर्न सकिन्छ ।

आज संसार एक ग्लोबल गाउँमा परिणत भएको छ । संसारको एक कुनामा जे भए पनि त्यसले हरेक कुनामा सबैलाई प्रभावित गर्छ । यो कुरा पनि कोभिड–१९ले पनि प्रमाणित गरेका छ तर मानवीय र प्राकृतिक साधन–स्रोतको वितरणमा निराशा लाग्दो असमानता छ ।

आज विश्वभरिका मानिसहरु द्वन्दको अन्त्य, जलवायु कार्य, जलवायु न्याय, स्वास्थ्य र सबैका लागी शिक्षा तथा कोभिड खोपका लागि वकालत गर्दै आएका छन् । मलाई विश्वास छ– हामी सबैको सामूहिक प्रयासले मात्र मानवता र हाम्रो गृहग्रह पृथ्वीलाई बस्ने ठाउँको रूपमा बचाउन सकिन्छ ।

आज हामीले देशव्यापीभन्दा माथि उठेर विश्वव्यापी नागरिकको हैसियतले केही गर्न जरुरी ठानेको छु । त्यसैले नेपालमा मात्र हैन यी मुद्दाहरु ग्लोबल फोरममा उठाउनु हाम्रो पनि दायित्व हो भन्ने लाग्छ ।

अतः २१, सेप्टेम्बर २०२१ विश्व शान्ति दिवस हो । यसै समयमा संयुक्त राष्ट्र संघको महासभा पनि बस्दै छ । विश्वमा फैलिएको द्वन्द, पर्यावरणीय विनास, सबैका लागि स्वास्थ र शिक्षा तथा कोभिडको खोपका विषयमा विश्वको ध्यानाकर्षण गराउने उदेश्यले अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्र संघको मुख्यालय भवन नजिकैको क्षेत्रमा शान्तिपूर्ण प्रदर्शन गरिने भएको हुँदा सक्रियतापूर्वक भाग लिन म अमेरिकामा रहेका सम्पूर्ण नेपाली समुदायलाई संस्थागत तथा व्यक्तिगतरूपमा हार्दिक अपील गर्छु ।

यो प्रदर्शनी एउटा नेपालीका तर्फबाट नभई संसारभर छरिएर रहेका सबै नेपालीको भावनात्मक प्रदर्शनी पनि हुने विश्वास मैले लिएको छु ।
प्रदर्शनीका क्रममा हामी संयुक्त राष्ट्रको नियमका साथै कोभिड–१९ का लागि सिडिसी, अमेरिकाका प्रोटोकलको कडाईसंग पालन गर्नेछौं।

कार्यक्रमको दिन र समयः २० र २१ सेप्टेम्बर २०२१, बिहान ९ बजेदेखि ४ बजेसम्म
प्रदर्शनका विषयहरुः
– जलवायु कार्य र जलवायु न्याय
– सबैका लागि कोभिड खोप सहित सबैका लागि स्वास्थ्य र शिक्षा
– यमन, सोमालिया, दक्षिण सुडान, इथियोपिया, सिरिया, र मध्य अफ्रिकी गणतन्त्र लगायत युद्धग्रस्त देशहरुमा स्थायी शान्ति स्थापना गर्न सबै देशले भूमिका खेल्नु पर्ने ।
– म्यानमार, अफगानिस्तान, यमन इथियोपिया सोमालिया दक्षिण सुडानलगायत अन्य देशका शरणार्थीहरूलाई न्यायिक र मानवीय सहायता गर्नु पर्ने ।

अन्त्यमा, विगतका सत्याग्रह तथा आन्दोलनमा भएको यहाँहरूको सक्रिय सहभागिता, विश्वास, समर्थन र एकताका लागि सबैप्रति सादर धन्यवाद भन्न चाहन्छु ।

सोलिड्यारिटी फोर डा. केसी अलाइन्स
डा. गोविन्द केसी
Ph: 984-009-6711
Email: [email protected]
सम्पर्क- शिव प्रकाश (अमेरिका)
Ph: 781-325-2242
Email: [email protected]