चोरी भई जबर्जस्ती समुद्रपार पुर्याइएका भगवान् फर्किने क्रम बढेको छ। आफ्नै थलोमा फर्काउन सके सांस्कृतिक पुनर्जागरणमा टेवा पुग्छ।
करीब १००० वर्षअघि कालो ढुंगामा कुँदिएको पूर्ण कदको लक्ष्मी-नारायणको मूर्ति पाटनको पटको टोलमा स्थापना गर्दा मूर्तिकार, भक्तालु, पुजारी कसैले पनि चोरीको कल्पना गरेका थिएनन्। त्यसैले ढुंगाको आसनमा बनाएको प्वालमा मिल्ने गरी मूर्तिको चोसो बनाए र भगवान् कमलाजा-वासुदेवलाई ठड्याए।
लिच्छविकाल, मल्लकालका दशौं हजार मूर्ति स्थापना गर्ने भक्तालु उपत्यकावासीलाई के थाहा, सयौं वर्ष आफ्ना आसन, खोपा, स्तूपा, गर्भगृहमा उभिएका भगवान्लाई सन् १९६० को दशक पश्चात् पश्चिमा कला संकलन दीर्घाले बेचबिखन र किनमेलको आँखाले हेर्नेछ!
चोरी भएको ३७ वर्षपछि फर्किएको लक्ष्मी-नारायणको मूर्ति।
देवता कसैले चोर्छ भन्ने कल्पना समेत नगर्ने भक्तालुले मूर्तिलाई भुइँमा जमाउन आवश्यक नठानेका कारण मूर्तिचोरले न उप्काउनुपर्यो, न उत्खनन गर्नुपर्यो, न त किल्ला वा बज्र वा ढुंगा-इँटाको घेरा फोर्नुपर्यो। टपक्क टिपेर लगे भइहाल्यो। सन् १९८४ को एक रात चोरहरू पटको टोल आएर लक्ष्मी-नारायणको मूर्ति टिपेर लगे।
६ वर्षपछि प्रख्यात पश्चिमा लिलाम गृह सोथ्बी’जको सन् १९९० को क्याटलगमा लक्ष्मी-नारायण एक्कासि प्रकट भए। जल, अबिर, अक्षता र फूलमालाले पोतरिएको मूर्तिको टिलिक्क टल्किने तस्वीर क्याटलगमा देखियो। लिलाम गृहले मूर्तिको मोल २५,००० देखि ३०,००० अमेरिकी डलर राखेको थियो। कतिमा त थाहा भएन, तर मूर्ति बिक्यो अनि फेरि सार्वजनिक नजरबाट अलप भयो।
यता उपत्यकामा मूर्ति चोरीको श्रृंखला शुरू भएको २० वर्ष भइसके तापनि सन् १९८० को दशकमा चोरी चुलिएको थियो। जनमत संग्रह पश्चात् खलबलिएको राजनीतिक परिस्थितिमाझ एकातिर मूर्ति चोरीको घटना व्याप्त थियो, अर्कातिर स्थानीय समुदाय एक खालको भाग्यवादमा डुबे जस्तो अवस्था थियो। कैयन् भगवान् लुटिए, समाचारसम्म बन्यो, तर जनमानसमा आक्रोश जागेन, मूर्ति चोरी विरुद्ध अभियान छेडिएन।
त्यसो हुन नसक्नुमा या त पञ्चायती शासनका वेला नागरिक संगठित हुन रोकावट एउटा कारण थियो, या वर्गीय-जातीय कारणले भक्तजनको चिन्ता राज्य सञ्चालकसम्म पुगेन। सडक छेउका, टोल-बहालका देवता लोप हुँदा शक्ति केन्द्र र उच्च वर्गलाई स्थानीयले पुज्ने भगवान्को चोरीले छोएन।
यति हुँदाहुँदै पनि केही व्यक्ति (नेपाली र विदेशी)ले मूर्ति चोरीको बढ्दो उद्योगमाथि निगरानी शुरू गरे। जस्तैः कलाकार र साहित्यकार लैनसिंह बाङ्देल र जर्मन नागरिक यूर्गेन शिक। यी दुईको पदचापमा हिंडेकी अमेरिकी कलाकार जोय लिन डेभिस चोरिएका मूर्तिबारे भावना जगाउने हेतुले नेपाल आइन्, सन् २००० को शुरूआततिर।
बेपत्ता पारिएका भगवान्को कलाकृति बडो मिहिनेतका साथ तयार गर्ने दौरान उनले यस लेखकलाई सोधेकी थिइन्, “कुन मूर्ति फिर्ता आएको देख्न सबैभन्दा बढी मन छ?” सन् १९९९ को अक्टोबरमा अंग्रेजी हिमालमा ‘गड्स इन् एक्साइल’ लेख तयार पार्ने वेलादेखि मूर्ति चोरीमा चासो राखिरहेको मैले डेभिसलाई जवाफ फर्काएँ, “पाटन पटको टोलको लक्ष्मी-नारायण।”
अमेरिका फर्केकी डेभिसले हप्ताको एक चोटि अनलाइन लेख र सामाजिक सञ्जाल चहारेर ‘अप्टिकल रेकग्निशन’ प्रविधि समेतको सहायता लिई त्यताका संग्रहालय र संकलन गृहमा नेपालका चोरी भएका मूर्तिको खोजमेल गर्न थालिन्। एक दिन उनले अमेरिका बस्ने एक नेपालीले टेक्ससको डालस् आर्ट म्यूजियम पुगेर आफ्नो फेसबूकमा राखेको अलि अस्पष्ट तस्वीर देख्न पुगिन्। उक्त मूर्तिका फोटोहरूको राम्रो अध्ययन गरिसकेको कलाकारका आँखाले लक्ष्मी-नारायणलाई चिनिहाले।
त्यहाँबाट शुरू भयो, पटको लक्ष्मी-नारायण फिर्ती सवारीको कथा। पहिलो कुरा त सन् १९९० देखि हराएको मूर्ति विभिन्न ‘कला’ पारखीको स्वामित्व हुँदै टेक्सस राज्यको डालस् आर्ट म्यूजियममा पुगेको रहेछ। एउटा कलाकृतिको सम्मेलनमा डेभिसले यो कुरा बताएपछि अनुसन्धानकर्ता एमिलिन स्मिथले लेख लेखिन्। त्यसपछि डालस् आर्ट म्यूजियमका व्यवस्थापक सतर्क भए, शुरूमा आलटाल गरे। तर, काठमाडौंमा पुरातत्त्व विभाग र वासिङ्टन डीसीको नेपाली दूतावास सक्रिय भए।
यता काठमाडौंस्थित अमेरिकी दूतावास पनि मूर्ति फिर्ता गराउन अग्रसर भयो भने अमेरिकाको सरकारी अनुसन्धान निकाय फेडरल ब्यूरो अफ इन्भेस्टिगेसन (एफबीआई)ले फाइल खोल्यो। मूर्ति नेपाल फर्कियो, र पुरातत्त्व विभागले ३ वैशाख २०७८ मा भएको पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्यो।
कोरोनाकालको पहिलो लहर पश्चात् देश फर्केका लक्ष्मी-नारायणको मूर्तिलाई पटको टोलवासीले साविककै मन्दिरमा पुनःस्थापन गर्ने इच्छा जनाएका छन्। अहिले मूर्तिको मुकाम पाटन संग्रहालयमा रहेको छ। ललितपुर महानगरपालिकाको समेत पहलमा लक्ष्मी-नारायण सुरक्षाको प्रबन्ध भएपछि उपयुक्त क्षमापूजा विधि-विधानका केही महीनाभित्रै वासुदेव-कमलाजा २८ वर्षपछि आफ्नो गृहप्रवेश गर्नेछन्।
कलेक्टर चोरहरू
ढुंगाको मूर्ति वा अन्य मूर्त वस्तु (‘ट्यान्जिबल हेरिटेज’)को चोरी नेपालमा सन् १९६० को दशकपछि मात्र शुरू भयो भने अन्यत्र शताब्दीऔंदेखिको धन्दा हो। विशेष गरी ‘मेट्रोपोलिटन’ राज्यका पारखीहरूले उपनिवेशबाट पुराना र कलात्मक मूर्ति उठाएर लैजाने चलन बस्यो।
यसको सबैभन्दा प्रख्यात उदाहरण त ग्रीसको राजधानी एथेन्सको एउटा थुम्कोमा रहेको प्रार्थेनन मन्दिरको छानामुनि रहेको संगमर्मरको मूर्तिको पूरै घेरा लर्ड एल्गिनले बेलायत लिएर गए। यो ‘एल्गिन मर्बल्स’ फिर्ताका लागि ग्रीसका नागरिक र सरकारले माग गरेको दुई शताब्दी भयो।
दक्षिण अमेरिकाको इन्का क्षेत्र होस् वा अफ्रिकाको माली राज्य, एशियाको कम्बोडिया वा इजिप्टको पिरामिड क्षेत्रबाट उठाइएका मूर्ति, गरगहना, पुरातात्त्विक शव (‘ममी’) वा कलात्मक झ्याल-ढोका, सब थोकलाई पश्चिमा कला संकलक र संग्रहालयहरूले आँखा लगाए, यिनको मूल्य राखियो, एउटाले अर्कालाई बेच्यो, लिलाम गरियो, र पछि केही उदार ‘दाता’ ले सार्वजनिक संग्रहालयलाई दान समेत दिए।
दक्षिण भारतको चोला राज्यका कैयन् नटराज मूर्तिहरू विदेशिए, र फिर्ता ल्याउने अभियान त्यहाँ बल्लबल्ल शुरू भएको छ। शाक्यमुनि बुद्धलाई मानव आकारमा प्रस्तुत गर्ने क्रम ईसापूर्व दोस्रो-तेस्रो शताब्दीमा गान्धार राज्यमा भएको हो र सर्वत्र छरिएका दशौं हजार ढुंगे मूर्ति वर्तमान पाकिस्तान र अफगानिस्तानका सांस्कृतिक सम्पदा हुन पुगे, र मूर्ति चोरी पैठारी व्याप्त हुन पुग्यो।
पाकिस्तान र अफगानिस्तानका बुद्धमूर्ति र अन्य बौद्धिक सम्पदा त्यहाँका लागि मृत संस्कृतिका अंग भएका छन्। मूर्ति चोरीबारे त्यहाँका केही बौद्धिक र विशेषज्ञले चिन्ता लिए पनि मुख्यतः वर्तमान मुस्लिम समुदायको चासो देखिंदैन। नेपालका मूर्तिको विशेषता भनेकै यी देवीदेवता २००० वर्षयता निरन्तर सभ्यता र संस्कृतिका प्रतीक हुन्।
कुनै एक मूर्तिको पूजाआजा अटुट रूपमा सदियौं चलेको हुन्छ। यस्तो ‘जीवित संस्कृति’ बाट मूर्ति चोरी हुनुको मानवीय र सामुदायिक चोट निस्सन्देह गम्भीर हुन्छ, किनकि नागरिकको आस्था, भावना, सामुदायिक पहिचान तथा मानसिक स्थितिमा प्रहार हुन जान्छ।
१०० वर्ष पुरानो कुनै पनि पुरातात्त्विक वस्तुको बेचबिखन र देश बाहिर लग्ने कामलाई नेपाल सरकारले कानूनी बन्देज लगाएकै छ। साथै, राजधानी उपत्यकाका ढुंगा मूर्तिबारे एउटा कुरा भन्नैपर्ने हुन्छ, मुलुक बाहिर जहाँ ती मूर्ति भेटिन्छन्, ‘एब् इनिशिओ’- शुरूआतमै चोरीको ठोकुवा गर्न मिल्छ।
युनेस्कोका एक अधिकारीका अनुसार, मूर्ति चोरी भएको सावित भए त्यस मूर्तिको वर्तमान ‘मालिक’ ले ‘मलाई चोरी भएको थाहै थिएन’ भनेर पन्छिन मिल्दैन। लुटको वस्तुलाई फिर्ता दिन उक्त ‘मालिक’ बाध्य हुन्छ।
ढुंगा मूर्ति भनेकै अग्लो हुन्छ, सार्वजनिक थलोमा राखिन्छ, र यसै कारण कसैले निजी सम्पत्ति भनीकन बेच्न या आफूखुशी दान दिन सक्दैन, जो सानो पूजाआजाका घरायसी वस्तुको गर्न सकिएला पनि। यसै कारण संसारको कुनै कुनामा नेपालको उत्पत्ति सावित हुने ढुंगा मूर्ति छ भने त्यो स्वतःसिद्ध चोरीको सामान हो, र फर्काउनु अपरिहार्य छ भन्न मिल्छ।
नेपालका चोरिएका धार्मिक वस्तुहरू फिर्ती सम्बन्धी एउटा सुखद प्रसंग योे छः ‘कला पारखी’ हरूले जब चोरीको तथ्य थाहा पाउँछन्, तब उनीहरू ती चोरी भएको वस्तु फर्काउन सजिलै राजी हुने गरेका छन्। अनुभवले देखाउँछ, चोरी भएको कुरा मिडियामा या पत्राचारबाट थाहा पाएपछि संग्रहालय वा संकलकले शुरूमा ‘डिस्प्ले’ मा राखेको मूर्ति ‘स्टोरेज’ मा सार्दछन्। कतिले शुरूमा आलटाल पनि गर्न खोज्लान्, तर त्यस्तो धेरै समय चल्दैन।
पुरातत्त्व विभाग, परराष्ट्र मन्त्रालय, प्रहरी, स्थानीय सरकार र समुदाय-समुदाय सक्रिय हुँदा एकातर्फ नैतिक दबाब खप्न नसक्ने हुन्छ भने अर्कातर्फ ऐतिहासिक थलोको प्रमाण, तस्वीर वा प्रहरीमा चोरीको वेलाको उजुरी जुट्दा संकलकको उभिने ठाउँ नै रहँदैन।
थातथलोमै फिर्ती
स्वनिग (नेपाल मण्डल, नेपाल खाल्डो वा काठमाडौं उपत्यका) शहरीकरणको चपेटामा परेको केही दशक भएको छ, र पहिला खेत-खेतबीचको शहर बस्ती भएको यस ठाउँ आज लगभग पूरै आवादी भइसक्यो। शहरीकरण तथा आधुनिकीकरणका कारण उपत्यकाको मौलिक (विशेषतः नेवाः) संस्कृति पातलिएको छ।
देवदेवी र बुद्ध-बोधिसत्व मूर्तिको लुट-श्रृंखलाले उपत्यकाको संस्कृतिलाई थप कमजोर बनाइदिएको छ, किनकि एउटा मूर्त सम्पदाको चोरीले अमूर्त सम्पदालाई हिर्काएको हुन्छ। मूर्ति चोरी हुँदा त्यसको ऐतिहासिकतासँग गाँसिएको आस्था र भावनामा चोट लाग्दछ र पदस्थापन गरिएको नयाँ मूर्तिले पनि उत्तिकै आदर-सत्कार वा भक्ति पाउँदैन। मूर्ति चोरी हुँदा तत्तत् भगवान्सँग सम्बन्धित पूजाआजा, जात्रा, मेला सबैमा प्रभाव पर्दछ।
आश्चर्यको कुरा नै भन्नुपर्दछ, मूर्ति चोरीको बजार दशकौंदेखि फस्टाउँदा जल्दोबल्दो संस्कृतिको यो उपत्यकामा आक्रोश र चिन्तामा आधारित समाजव्यापी मूर्ति चोरी विरोधी अभियान शुरू भएन। तापनि, विभिन्न समुदाय तथा देशी र विदेशी नागरिक विशेषले मूर्ति चोरीमाथिको निगरानी गरी नै रहे।
उमा-महेश्वर फिर्ता त आए, तर त्यति वेला धुलिखेलवासी आफ्नै टोलमा फर्काउन जागरुक भएनन्, र मूर्ति पाटन संग्रहालयको ‘डिस्प्ले’ मा राखियो। खुशीको कुरा, वर्षौंपछि अहिले नयाँ मन्दिर निर्माण गरेर उमा-महेश्वर फिर्ता गर्ने तयारीमा छन्, स्थानीयवासी।
संसारमा छरिएका आफ्ना देवदेवीबारे पहिलेको तुलनामा आज देशभित्र र बाहिर चासो र जुझारुपन बढेको छ। उपत्यकाको संस्कृतिलाई निरन्तरता दिन या पुनर्जागरण गर्न पनि मूर्ति फिर्ता अभियानलाई रफ्तारमा लग्नुपरेको छ, ताकि बिर्सिएका भावना, टुटेका आस्था, छुटेका रीतिरिवाज फेरि भगवान्को फिर्ती सवारीसँगै पुनर्ताजगी होऊन्।
टोल-समुदायमा सांस्कृतिक ऊर्जा फर्काउन चोरिएका मूर्ति थातथलोमै फर्केको राम्रो। तर, यदाकदा मूर्ति फिर्ता आउँदा समुदाय स्वयं पुरानै ठाउँमा राख्न अग्रसर भएको पाइँदैन। यसका विभिन्न कारण छन्, मुख्यतः मूर्ति फेरि चोरी भए बात लाग्ला भन्ने स्थानीय अगुवाहरूको डर। यसै कारण विदेशी संग्रहालयबाट फर्किएका भगवान्लाई छाउनीको राष्ट्रिय संग्रहालयमा दाखिला गरेर सुरक्षित गरिंदै आएको छ। भगवान् देश फिर्ता त आउँछन्, तर मूलतः एउटा संग्रहालयबाट अर्को संग्रहालयमा स्थानान्तरण मात्र हुन्छन्।
सन् १९९९ मा क्यालिफोर्नियामा बस्ने एक अमेरिकी शौखीनले आफूसँग भएका चार मूर्ति चोरीको भएको थाहा पाएपछि आफूखुशी फिर्ता दिए, र ती मूर्ति अझैसम्म छाउनी संग्रहालयमा अवस्थित छन्। तीमध्ये फर्पिङबाट फुटाएर लगेको सरस्वतीको शिर पनि फर्काएर यहाँ राखिएको छ। पुरानो ठाउँमा भने नमिल्दो टाउको बनाएर जडान गरिएको छ।
सन् २००० मा बर्लिनको कला संग्रहालयबाट धुलिखेलको वोः टोलको ९०० वर्ष पुरानो कैलाश पर्वतमा विराजमान उमा-महेश्वरको प्रतिमा फिर्ता आयो। दुई दशकअघि अनुसन्धानका लागि धुलिखेल गएका वेला यस लेखकलाई वोः टोलकी ७५ वर्षीया नानीमायाले भनेकी थिइन्, “हाम्रो भगवान्लाई फर्काउन जे जे गर्नुपर्दछ, गरिदिनुस्।” अर्का अग्रजले भनेका थिए, “फिर्ता आओस् मूर्ति। हवाई अड्डा गएर बाजागाजा सहित ल्याउँछौं।”
उमा-महेश्वर फिर्ता त आए, तर त्यति वेला धुलिखेलवासी आफ्नै टोलमा फर्काउन जागरुक भएनन्, र मूर्ति पाटन संग्रहालयको ‘डिस्प्ले’ मा राखियो। खुशीको कुरा, वर्षौंपछि अहिले नयाँ मन्दिर निर्माण गरेर उमा-महेश्वर फिर्ता गर्ने तयारीमा छन्, स्थानीयवासी।
सन् १९९३ मा डालस् म्यूजियममा प्रदर्शनीमा राखिएको लक्ष्मी-नारायणको मूर्ति (दायाँ)। तस्वीर: डालस् म्यूजियम
किताब, अखबार हुँदै अनलाइन तथा सामाजिक सञ्जालको जमानामा चोरिएको मूर्ति प्रदर्शनीमा राख्दा ढिलोचाँडो सबैले थाहा पाइहाल्छन्। यस कारण मूर्ति चोरीको क्रम केही हदसम्म घट्दै गएको अनुमान गर्न सकिन्छ, र भोलिको काम भनेको बाहिरिएका दशौं हजार मूर्ति पहिचान गर्ने र फिर्ता ल्याउने हो। फिर्ता आएर आफ्नै थलोमा फर्किएका देउताको फेरि चोरी हुने सम्भावना कम छ।
सरकारको नियम र मान्यता अनुसार यदि कुनै समुदायले फिर्ता आएको मूर्ति जिम्मा लिने र संरक्षण गर्ने विश्वास दिलाए त्यसो गर्न दिइन्छ। तर, यो प्रक्रियाको फाइदा धेरैजसो समुदायले लिएका छैनन्।
प्रवासमा रहेका भगवान्लाई मुलुक फिर्ता ल्याउनमा मात्र कसरत गर्ने हो भने यसको सीमित फाइदा हुन्छ- मुख्यतः समुद्रपारका संग्रहालयबाट छाउनीमा मूर्ति फिर्ता हुनेछन्। तर, मौलिक सांस्कृतिक र सामुदायिक परिवेशबाट भगवान्, भक्तजन र समुदाय दुवै वञ्चित हुनेछन्। फिर्ती अभियानको उद्देश्य हुनुपर्दछ- सकेसम्म पुरानै थातथलोमा क्षमापूजा सहित फिर्ता गर्ने र नसके मात्र पुरातत्त्व विभागले एउटा छुट्टै संग्रहालय वा ग्यालरी स्थापना गरेर फर्केका देवीदेवता तथा अन्य मूर्त वस्तुलाई गरिमामय हिसाबले अवस्थित गर्ने।
सरकारको नियम र मान्यता अनुसार यदि कुनै समुदायले फिर्ता आएको मूर्ति जिम्मा लिने र संरक्षण गर्ने विश्वास दिलाए त्यसो गर्न दिइन्छ। तर, यो प्रक्रियाको फाइदा धेरैजसो समुदायले लिएका छैनन्। यस लेख अनुसन्धानका क्रममा थाहा भयो, ललितपुरको लेलेको स्थानीय समुदायले चोरी भएको दीपंकर बुद्ध पुरानै ठाउँमा लग्ने इच्छा जाहेर गर्यो, र सुरक्षा दिन सक्ने भनी सन्तुष्ट भएपछि पुरातत्त्व विभागले अनुमति दियो। बाजागाजा र पूजाआजा सहित फर्केको दीपंकर बुद्धको मूर्तिको लेले फिर्ती सवारी उदाहरणीय छ।
मूर्ति समुदायमै फिर्तीका लागि समुदायका अगुवाहरूले यस सम्बन्धी विश्वास जगाउनुपर्छ, पुरातत्त्व विभागका पदाधिकारीमा। पहिलो कुरो त विभिन्न माध्यमबाट मूर्तिबारे प्रचार हुनुपर्दछ ताकि ‘कलेक्टर्स मार्केट’ मा मूर्तिको मोल कम हुन जाओस्, र यसका कारण चोरहरू आकर्षित नहोऊन्। त्यस बाहेक आधुनिक प्रविधिका अन्य तरिका छन्, चोरलाई निरुत्साहित गर्ने, जस्तै रातको वेला उज्यालो पार्ने, सीसीटीभी क्यामेरा र टेप जडान गर्ने, मूर्तिलाई बलियो गरी भुइँ वा भित्तामा जोड्ने तथा गर्भगृहको झ्यालढोकालाई भित्रतिरबाट फलामको फ्रेमद्वारा बलियो बनाउने।
कतिपय मूर्ति चर्चित भएका कारण कुन टोल वा समुदाय वा मन्दिरको हो भन्ने थाहा पनि होला, तर कैयन् त्यस्ता भगवान् हुन्छन् जसको शैली हेर्दा स्वनिग उपत्यकाका हुन् भनेर मोटामोटी थाहा भए पनि कहाँनेरका हुन्, कसैलाई यकिन छैन। धेरैजसो चोरी हुने उमा-महेश्वर एउटै आकारको भएकाले विशेषज्ञले मात्र कुन कहाँको भनेर छुट्याउन सक्छन्।
नेपाली दूतावास, वासिङ्टन डीसीमा ६ मार्च २०२१ मा आइपुगेका
लक्ष्मी-नारायण। तस्वीर : अमिताभ जोशी
अधिकांश मूर्तिबारे दशकौंपछि अनुसन्धान गर्दा समुदायका वृद्धवृद्धाको पनि सम्झना धूमिल भइसकेको हुन्छ। यस्तो अवस्थामा ‘फोरेन्सिक आर्कियोलोजी’ गरीकन पुरानो तस्वीर दाँजेर हुन्छ वा मूर्ति तलपट्टि छेस्को र आसनको प्वाल मिलाउने अथवा मन्दिरको परिवेश र इतिहासलाई बुझेर भगवान् खुट्याउने- यी सबै मूर्ति फिर्ती अभियानका सन्दर्भमा गर्नुपर्ने काम हुन्।
संसारभरका अनगन्ती देवदेवी, बुद्ध, बोधिसत्व, द्वारपाल वा मिथक जनावरको मूर्ति नेपालको भनी पक्का हुँदा पनि नेपालमा ल्याउन स्रोतसाधनको कारण सम्भव नहोला। यस्तो वेला कम्तीमा पनि मूर्ति राख्ने संस्थालाई कागज गराउनुपर्ने हुन्छ, जहाँ नेपाली समाज र संस्कृतिको स्वामित्व रहेको कुरा स्विकारिएको हुन्छ।
साथै, तत्कालै नेपाल फर्काउने व्यवस्था नभए उक्त मूर्ति अस्थायी ‘लोन’ का रूपमा मात्र उक्त संग्रहालयमा राख्ने। अझ भनौं, चोरीको वस्तुको स्वामित्व नेपालमा रहेको स्थापित गरी एक खालको नासोका रूपमा राख्ने। त्यसो गर्ने हो भने कम्तीमा नेपाली स्वामित्व नेपालमा रहेको स्थापित भएर ढिलोचाँडो फर्किनेछन् सबै देवताहरू।
संग्रहालय वा संग्रहकर्ताले सार्वजनिक गरेका मूर्तिभन्दा धेरै गुणा बढी मूर्ति ती संस्थाहरूले आफ्नो भण्डारमा राखेका हुन्छन्। म्यूजियम अफ सदर्न क्यालिफोर्निया (लस एन्जेलिस्)को ढुकुटीमा सबैभन्दा धेरै नेपालका देवता र विभिन्न वस्तु राखिएका छन्। यस्तै, इतिहासविद् रमेश ढुंगेलले पत्ता लगाए जस्तै न्यूयोर्कको मेट्रोपोलिटन म्यूजियम अफ आर्टको ‘स्टोरेज’ मा धेरै मूर्ति थन्किएका छन्।
अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडा लक्ष्मी-नारायणको मूर्तिको स्वामित्व लिंदै। तस्वीर : नेपाली दूतावास, वासिङ्टन
यी त भए सार्वजनिक संस्थाका गोदामको कुरा, जहाँ भगवान्लाई तखतामा चाङ लगाएर राखिएको हुन्छ, र सार्वजनिक संस्था भएका कारण त्यो ठाउँमा भगवान्मा कसै न कसैको पहुँच हुन्छ। निजी शौखीन संकलकहरूको संग्रहालयमा छिर्न स्वभावतः गाह्रो हुन्छ। तर, यो किल्ला फोर्नु अत्यावश्यक छ। आजसम्म निजी संकलकहरूको देवीदेवता सम्बन्धी सूचना त्यति वेला मात्र बाहिर आउँछ, जब उनीहरूले जीवित छँदै कुनै संग्रहालयलाई ‘गिफ्ट’ दिन्छन्, या मरण पश्चात् इच्छापत्र मार्फत।
नेपालको ऐतिहासिक मूर्तिकलाको विश्वव्यापी मान्यता स्थापित गर्न यी समुद्रपारका संग्रहालय र शौखीन व्यक्तिहरूले योगदान गरे होलान्, तर एकछिन पनि बिर्सन नहुने कुरा- यी सब चोरीको विश्वव्यापी श्रृंखलाका पात्र हुन्।
चोर्ने कोही र बचाउने अन्य
नेपालको मूर्ति चोरीको सन्दर्भमा दुई सक्रिय समुदाय छन्; एकातर्फ चोरी गर्ने जमात, अर्कोतर्फ चोरी रोक्न प्रयासरत पक्ष। चोरी नै गर्ने त स्थानीय गुण्डा-डाँका भइहाले। चोर्न लगाउने स्थानीय बिचौलिया हुन्छन् जसको अन्तर्राष्ट्रिय ‘आर्ट मार्केट’ सञ्जालसँग सम्पर्क हुन्छ।
स्थानीय बिचौलियाले विभिन्न माध्यम (‘डिप्लोमेटिक ब्याग’देखि अन्य निर्यातका वस्तुबीच लुकाएर या मूर्तिलाई नयाँ प्रमाणित गरेर) मार्फत अन्तर्राष्ट्रिय बिचौलियाकहाँ पुर्याउँछन्, मुख्यतः नयाँदिल्ली, मुम्बई या ब्याङ्ककमा। त्यहाँबाट नेपाली भगवान् पेरिस, टोक्यो, हङकङ, लन्डन, न्यूयोर्क, स्यान फ्रान्सिस्को र अन्यत्र रहेका आर्ट ग्यालरी या संग्रहालयलाई सीधै बिक्री गर्दछन् या लन्डन, न्यूयोर्क वा पेरिसका लिलाम गृह मार्फत ‘फर सेल’ मा राखी पैसा असुल्छन्।
चोरीको वस्तु भनेर बेच्न नमिल्ने हुनाले उत्पत्ति (‘प्रोभनेन्स’)बारे बिचौलिया मौन हुने गर्छन् र गएका दशकमा चोरीको भएको थाहा पाउँदापाउँदै ग्राहक, कला विशेषज्ञ वा संकलक संस्थाले बुझ पचाउँदै आएका छन्। नेपालको ऐतिहासिक मूर्तिकलाको विश्वव्यापी मान्यता स्थापित गर्न यी समुद्रपारका संग्रहालय र शौखीन व्यक्तिहरूले योगदान गरे होलान्, तर एक छिन पनि बिर्सन नहुने कुरा- यी सब चोरीको विश्वव्यापी श्रृंखलाका पात्र हुन्।
आज पनि पश्चिमा संग्रहालयका क्युरेटर, धनाढ्य ‘आर्ट कलेक्टर’ तथा हाम्रा मूर्तिबारे सबैलाई सल्लाह दिने कला विशेषज्ञलाई चोर भनिंदैन, मूर्तिलाई मन्दिरबाट टिपेर हिंड्ने स्थानीय गुण्डालाई मात्र भनिन्छ। जति हामी पूरै मूर्ति पलायन गर्ने गराउने एक-एक पात्रलाई चोर भन्दैनौं, त्यति हामी नेपालको मूर्ति चोरी श्रृंखलाबारे आफैं अस्पष्ट भएको मान्नुपर्छ, र भोलि मूर्तिको माग घट्दैन र यताकाले आपूर्ति गरी नै रहन्छन्। तसर्थ चोरको संज्ञा स्थानीय गुण्डालाई जस्तै समुद्रपारका क्युरेटरलाई पनि दिइनुपर्छ।
सत्यमोहन जोशी, संस्कृतिविद्
‘मूर्ति बचाउन जासूस भएँ, अपहरणकारी भएँ’
मूर्ति बन्नु इतिहासको अभिलेख तयार हुनु हो। कुन धर्म र सम्प्रदायको आस्थाले मूर्ति बन्यो भन्ने कुरा बनावटले बुझिन्छ। इतिहासका खाकाहरूलाई मूर्तिले नै प्रमाणीकरण गर्दछ। संस्कृतिभन्दा ठूलो धन म अरू देख्दिनँ। त्यसैले पुरातत्त्व विभागको निर्देशक भएर काम गर्दा मेरो प्रमुख अजेन्डा मूर्ति बचाउने नै थियो।
२०१६ सालमा मूर्ति बचाउन जासूस भएँ, अपहरणकारी भएँ। मानदेवले स्थापना गरेको वामन मूर्ति बचाउन एक्लै लागिपरें। लाजिम्पाटको धोबीचौरमा रहेको विष्णुविक्रान्तको मूर्ति बचेकैले नेपालमा मूर्तिको इतिहास स्पष्ट छ।
नेपालका मूर्तिहरूले यहाँको मात्र नभएर भारतीय सभ्यताको पनि व्याख्या गरेका छन्। बुद्धका मूर्तिहरूले महायानी ग्रन्थका केही दर्शन बुझाएका छन्। तर, नेपाललाई हेपेरै मूर्ति चोरिएका छन् र फर्काउन निकै जटिल भएको छ। पुर्खाले सिर्जना गरेका मूर्तिहरूमा राष्ट्रको गाथा छ । मूर्तिहरूले नै हामीलाई प्राचीन युगसँग साक्षात्कार गराउन सक्छन्।
एकातर्फ चोरको जमात छ, अर्कातर्फ संरक्षणकर्ता थोरै संख्यामा छन्। तर, यिनीहरूकै दशकौंको एक्लो-एक्लो लगाव, अध्ययन र क्रियाशीलताले आज नेपालका मूर्ति चोरीबारे ज्ञान प्रसारण भएको छ भने एक हदसम्म मूर्ति चोरीमा मन्दी आएको छ।
सन् १९५० को दशकमा फ्रान्सबाट नेपाल फर्किएका कलाकार लैनसिंह बाङ्देललाई पाटनको मूर्तिकलाबारे उत्साहित पार्ने शुरूआती काम गरेकामध्ये थिए, मेरै बुबा कमलमणि दीक्षित। मूर्ति चोरीको रफ्तार बढ्दै गएको देखेका बाङ्देलले आफ्नो क्यामेरा बोकेर उपत्यका र आसपासका मन्दिर, बहाल चहार्दै गजबको ‘फोटोग्राफिक डक्युमेन्टेसन’ तयार पारे।
“जब एउटा भगवान्को मूर्ति संग्रहालयमा प्रदर्शन हुन्छ, त्यो सांस्कृतिक प्रतीकबाट पुरातात्त्विक वस्तुमा परिणत हुन्छ, त्यसको पहिचान हरण हुन्छ।”
काम कठिन थियो, र कति स्थानीयले त उनी आफैं मूर्ति चोरीकै लागि तस्वीर खिचेको आशंका गरे। तर, बाङ्देलको क्रियाशीलतामा कमी आएन। जति आफ्नै स्थानका मूर्तिको तस्वीर खिच्यो, उत्तिकै चोरी भएको खण्डमा प्रमाण सहित घर फर्काउन सकिन्छ भन्ने गजबको अवधारणा सहित बाङ्देल एक्लै अघि बढे र पछि ठूलो आकारको किताब आफू उपकुलपति रहेको प्रज्ञा-प्रतिष्ठान मार्फत सन् १९८९ मा निकालेः स्टोलन् इमेजेज् अफ नेपाल।
सन् १९९० को उत्तरार्धमा लैनसिंह बाङ्देल आफूले कला सिकेको शहर पेरिस पुगेर त्यहाँको एशियाली कलाकृति प्रस्तुत गर्ने म्यूजे गीमे नाम गरेको संग्रहालय पुगे। एउटा कक्षमा रहेका मूर्ति देखेर झसंग भए, जब भक्तपुर र पाटनमा आफूले खिचेका श्रीधरनारायण-विष्णु र उमा-महेश्वरका मूर्ति देखे। बाङ्देलले तत्काल संग्रहालयका निर्देशकलाई भेटेर आफ्नो किताब देखाए, जसमा आफ्नो थातथलोमा रहेका दुई मूर्तिका श्यामश्वेत तस्वीर थिए। चोरीको प्रमाण अरू केही चाहिएन। संग्रहालयले तत्कालै दुई मूर्तिलाई प्रदर्शनबाट तानेर छिंडीको धनसारमा थन्क्यायो।
शताब्दीऔं अघि नेपाली भक्तजनका लागि नेपाली कलाकारले कुँदेका उत्कृष्ट दुई मूर्ति पेरिसको संग्रहालयको अँध्यारो कोठामा बन्धक छन्। यी भगवान्लाई नेपाल फर्काएर भक्तजनसामु प्रस्तुत गराउँदा बरालिएको संस्कृति पनि अलिकति ठाउँमा आउँथ्यो।
आजसम्म उमा-महेश्वर र श्रीधरनारायण-विष्णु त्यही म्यूजे गीमेको ढुकुटीमै छन्। पूरा तागत लगाएर यी तीन देवदेवीको फिर्तीका लागि नेपाल सरकारको पर्याप्त पहल भएको छैन, त्यतातिर ध्यान नै छैन। कनकमणि दीक्षित