आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान नेपालले लोपोन्मुख राउटे समुदायले बोल्ने भाषाको लिपि तयार गर्ने भएको छ ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका कार्यकारी उपाध्यक्ष गोकुल घर्तीले आफ्नो कार्यकालमा राउटे समुदायले बोल्ने भाषाको लिपि तयार गरिसक्ने दाबी गरे ।
सुर्खेतको गुर्भाकोटमा बस्दै आएका राउटे बस्तीमा आइतबार राहत सामग्री लिएर पुगेका उनले फिरन्ते जीवन बिताइरहेका आदिवासी राउटे समुदायको पहिचानलाई जोगाउँदै समय अनुकूल परिवर्तन गर्न पनि प्रतिष्ठानले पहल गर्ने जानकारी दिए ।
उनले भने,‘ अहिले राउटेको अस्तित्व सङ्कटमा पर्ने देखिएको छ। राउटे संरक्षणमा सबैले ध्यान दिन आवश्यक छ। राउटे जातिले खस भाषा बोल्छे गर्दछन्।’
नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामले राउटे समुदाय आदिवासी भित्र पनि पिछडिएको अबस्थामा रहेकाले उनीहरूका आधारभूत आवश्यकताको परिपूर्ति हुनेगरी सामाजिकीकरण गर्न सरकारले उचित ध्यान दिनुपर्ने बताए ।
संयुक्त रूपमा राउटे समुदायलाई खाधान्न, लत्ताकपडालगायतका सामग्री हस्तान्तरण गरिएको थियो । राउटे मुखिया सूर्यबहादुर शाहीले राहत सामग्री उपलब्ध गराएकामा आफ्नो समुदायको तर्फबाट धन्यवाद दिएका थिए ।