निसर्ग पटेल र स्टेभन टेलर चम्किएपछी पपुवा न्यु गिनी बिरुद्वको पहिलो एकदिवसीय खेलमा अमेरिकाले सहज जित निकालेको छ।सोमबार भएको पहिलो एकदिवसीयमा अमेरिकाले पिएनजीलाई ७ विकेटले पराजित गरेको हो।
पिएनजीले दिएको १५९ रनको लक्ष्य अमेरिकाले २८.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो।अमेरिकाका ओपनर स्टेभन टेलरले आक्रामक ब्याटिङ गर्दै ५५ बलमा ७ चौका र ७ छक्कासहित सर्वाधिक ८२ रन जोडे।मोनाक पटेल ३८ बलमा १ चौका र १ छक्कासहित ३४ रनमा अविजित रहे।त्यस्तै सुशान्त मोदानी २४ रनमा आउट भए।
बलिङतर्फ पिएनजीका चार्ल्स अमिनी र डेमियन रावुले १/१ विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पिएनजी ४४.२ ओभरमा १५८ रनमा अल आउट भएको थियो।पिएनजीका कप्तान असाद वालाले ७४ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ६१ रन जोडे।त्यस्तै सेस बाउले ३१,गौडी टोकाले १८ र जेसन किलाले १० रन जोडे।अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन।
बलिङतर्फ अमेरिका निसर्ग पटेलले १० ओभरमा ३० रन खर्चेर ४ विकेट लिए।नोस्टुश केंजिगेले ६।२ ओभरमा १ मेडन राख्दै २२ रन खर्चेर ३ विकेट लिए।कप्तान सौरभ नेत्रभाल्करको नाममा १ विकेट रह्यो।
अमेरिकासँग पराजित भएको पिएनजीले भोलि नेपालसँग पहिलो एकदिवसीय खेल खेल्नेछ।