काठमाण्डौ।
साधारण सेयर आइपीओ जारी गरेर रंगशाला बनाउनुपर्ने कुरा सामाजिक सञ्जालमा उठेपछि फाउन्डेसनका प्रमुख सीताराम कट्टेलले त्यसको जवाफ दिएका छन्।उनले आइपीओलाई यस जनस्तरबाट बनिरहेको रंगशाला निर्माणमा जोड्न नसकिने बताएका छन्। आफ्नो फाउन्डेसन गैर नाफामूलक संस्था भएकाले आइपीओ जारी गर्न नसकिने उनको भनाइ छ।
फाउन्डेसनको आधिकारिक फेसबुक पेजमा उनले भनेका छन्,‘केही महानुभावहरूले आइपीओ खोल्नुस्, आइपीओ सञ्चालन गर्नुस् र त्यो मार्फत रङ्गशाला निर्माण अगाडि बढाउनुस् भनिराख्नु भएको छ। तर म यहाँहरुलाई जानकारी गराउन चाहन्छु, हामी आइपीओ मार्फत जोडिन सक्दैनौँ। किनभने हामी गैर नाफामुलक संस्था हौँ, सार्वजनिक जग्गामा रङ्गशाला ठडि रहेको छ। कम्पनी मार्फत मात्रै हो हामीले आइपीओ सञ्चालन गर्ने, जुन हामी असमर्थ छौँ। हामी हरेक नेपालीको भावना जोड्न खोजी रहेका छौँ। कुनै व्यापारिक परियोजनाको लागि पनि यो रङ्गशाला बनिरहेको हैन। हाम्रो देशका खेलाडीले खेल्ने एउटा मन्दिर, सबैको योग्दानले बन्ने रङ्गशाला भएको हुनाले सानो भन्दा सानो सहयोग पनि अत्यन्तै महत्वपूर्ण हुन्छ। यहाँहरुलाई नलागोस् कि म सँग त केही छैन, तपाईँहरूले मन दिएमा पनि धेरै हुन्छ।’
पछिल्लो समय यस फाउन्डेसनले ‘हाम्रो रंगशालामा मेरो कुर्सी’ अभियान संचालन गरेको छ। यस अभियान रंगशालाका लागि पैसा जुटाउने अभियान हो।