महिलाहरुको महान चाड हरितालीका तीज परापूर्व काल देखि नै मनाइदै आएको एक पर्व हो । यो पर्व भाद्र शुक्ल द्धितीय देखि पञ्चमी सम्म मनाइन्छ । साथै यो पर्वमा भगवान शिवका पूजा आरधाना गरिनुका साथै नाचगान समेत गरेर मनाइन्छ । नेपाली हिन्दु महिलाहरुले स्वतन्त्र र आनन्दमय रुपमा मनाइने तीज अन्य धर्म र जातजातीका नेपाली महिलाहरुले पनि मनाउन थालेका छन् । तीज नेपला भर मनाइन्छ भने भारतको कुनै कुनै प्रान्तमा मनाइन्छ । भगवान शिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो बर्त राखेकी थिइन् त्यो दिन यही हरितालिका तीजको दिन थियो। त्यसै दिनदेखि आजसम्म हिन्दू नारीहरूले यो पर्व मनाउदै आएका छन्।
तीजको धार्मिक पृष्टभुमी
हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन्। पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइसक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिइकन निराहार बर्त बसिन्। यसरी पार्वतीको कठोर बर्तको कारण शिवजी प्रकट भई चिताएको कुरा पुगोस् भनी आशीर्वाद दिए पछि शिव पार्वतीको विवाह हुन पुग्यो। त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो। सोही तिथिदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ।
मनाउने तरिका
तीजको दिनका अतिरिक्त गणेश चतुर्थी र ऋषिपञ्चमीलाई पनि तीज पर्वकै रूपमा मनाइन्छ। खास गरी यसमा स्त्रीहरूले पतिको निम्ति निराहार रहेर भगवान शिवतथा आद्य शक्ति पार्वतीसँग प्रार्थना गर्दछन्। यो दिन महिलाहरू बिहान चाँडै उठी नुहाई धुवाई गरेर दिनभरि जल, अन्न ग्रहण नगरी बर्त बस्ने गर्दछन्। बेलुकीपख घर, गाउँ र छिमेकका महिलाहरू भेला भई पूजाका सामान तथा मण्डप तयार गरी भगवान शिवको आराधना गर्ने प्रचलन रहेको छ। निर्जला बर्त भनिए पनि आजभोलि महिलाहरू मध्यान्हमै पूजा, आराधनापश्चात् फलफूल ग्रहण गर्ने गर्दछन्। कतिपय महिलाहरू नजिक रहेको शिवमन्दिरमा गई शिव आराधनाका साथै नाचगान तथा रमाइलो गर्ने गर्दछन्।