काठमाडौँ,२४ भदौ । भारतले चालू आर्थिक वर्षमा नेपाललगायत छिमेकी देशमा ८ लाख टन कोइला निर्यात गरेको छ । निर्यात गरिएको कूल परिणाममध्ये सबैभन्दा बढी अर्थात् ७७ दशमलब २० प्रतिशत नेपाल भित्रिएको छ । भारतको कोइला मन्त्रालयको तथ्यांकअनुसार नेपालपछि वंगलादेशमा धेरै कोइला निर्यात भएको छ ।
वंगलादेशमा कूल परिणामको १३ दशमलब ४ प्रतिशत निर्यात भएको तथ्यांकमा उल्लेख छ । उत्पादनभन्दा माग बढी भएकाले आपूर्तिमा कठिनाइ भएको मन्त्रालयले जनाएको छ । पर्याप्त कोइला खानीका बाबजुद उत्पादित कोइलाले माग धान्न कठिनाइ भएको मन्त्रालयले जनाएको छ ।
भारतले उच्च गुणस्तरको कोइला आपूर्ति सीमित भएको पनि स्वीकारेको छ । माग र आपूर्ति सन्तुलित पार्न तथा गुणस्तरीय कोइला उत्पादन गर्न अन्य मुलुकबाट खरानी कम भएको कोइला आयात गर्नुपर्नेमा मन्त्रालयले जोड दिएको छ । भारतले विभिन्न देशबाट कच्चा कोइला आयात गर्छ ।