काठमाडौँ,२४ भदौ । प्रधानसेनापति प्रभुराम शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई बिहीबार शीतल निवासमा शपथ ग्रहण गराउनुका साथै दर्ज्यानी चिह्न लगाइदिएकी छन् ।
झन्डै एक लाख सैनिकको प्रमुख भएर तीन वर्ष संस्था हाँक्ने अवसर पाएका शर्मा २०८१ भदौ २४ सम्म प्रधानसेनापति रहने छन् । उनले पूर्वप्रधानसेनापतिहरू पूर्णचन्द्र थापा र राजेन्द्र क्षत्रीकै कार्यकालदेखि संगठनलाई माथिल्लो तहमा बसेर बुझ्ने अवसर पाएका छन् ।
नेपाली सेनाका परमाधिपतिसमेत रहेकी राष्ट्रपति भण्डारीले गत भदौ ११ गते शर्मालाई भदौ २४ गतेबाट लागू हुने गरी प्रधानसेनापति नियुक्त गरेकी थिइन् । मन्त्रिपरिषद्ले नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम शर्मालाई नियुक्त गर्न सिफारिस गरेको थियो ।