राष्ट्रिय वाणिज्य बैंकले ऊर्जा बचत गर्ने चार कम्पनीलाई आर्थिक अनुदान सहयोग प्रदान गरेको छ । बैंकले जर्मन सरकारको केएफडब्ल्यू बैंकमार्फत् प्राप्त अनुदान सहयोग प्रदान गरेको हो।
केएफडब्ल्यू बैंकको आर्थिक सहयोगमा सञ्चालित कार्यक्रममा सहभागी प्रगति टेक्सटाइल इन्डस्ट्रिज प्रालि, प्रिमियर वायर्स प्रालि, हुलास स्टील इन्डस्ट्रिज प्रालि र सालीमार मेटल्स प्रालिलाई आर्थिक सहयोग प्रदान गरिएको हो।
बैंकका अनुसार चार उद्योगमध्ये प्रगति टेक्सटाइलले सबैभन्दा बढी आर्थिक अनुदान पाएको छ। उसले एक करोड रुपैयाँ पाएको छ। प्रिमियर वायर्सले ९३ लाख ६० हजार तीन सय २० रुपैयाँ पाउँदा हुलास स्टीलले ६४ लाख ३७ हजार दुई सय ३१ रुपैयाँ र सालीमार मेटल्सले ३२ लाख ८ हजार ८ सय रुपैयाँ पाएका छन्।
मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी कम्पनीहरूले यन्त्र उपकरण जडान गरेको हुँदा स्वीकृत अनुदान कार्यविधिअनुसार अनुदान सहयोग सम्झौता आदानप्रदान तथा अनुदान रकमको चेक हस्तान्तरण गरिएको बैंकले जनाएको छ।
नेपालका लागि जर्मन राजदूतावास विकास सहयोगका उपप्रमुख सिमोन म्याक्समिलन हिन्केले चेक हस्तान्तरण गरेका हुन्। बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौतापत्र आदानप्रदान गर्दै अन्य उद्योगहरुलाई ऊर्जा बचत गर्ने कार्यमा लगानी गरी कार्यक्रममा सहभागी हुन आह्वान गरे। उनका अनुसार हालसम्म देशभरका २१ वटा उद्योगलाई ९ करोड ९२ लाखभन्दा बढी अनुदान रकम हस्तान्तरण गरिएको छ।
नेपाल सरकार र जर्मन सरकारबीच सन् २०१३ मा नेपालको औद्योगिक तथा व्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत गर्ने सम्झौताबमोजिम राष्ट्रिय वाणिज्य बैंकले उक्त कार्यक्रम अघि बढाइरहेको छ। कार्यक्रमअन्तर्गत नेपालमा सञ्चालित ठूला, साना तथा मझौला उद्योग र फर्महरुलाई मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गर्दा जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३९ प्रतिशतसम्म अनुदान रकम राष्ट्रिय वाणिज्य बैंकमार्फत उपलब्ध गराइन्छ ।
कार्यक्रमअन्तर्गत कुनै एक ईकाइले मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी यन्त्र उपकरणमा लगानी गरेमा स्वीकृत अनुदान कार्यविधिभित्र रही अधिकतम एक करोड रुपैयाँसम्मको सहायता रकमका लागि दरखास्त दिन सकिने बैंकले जनाएको छ।