अमेरिकी सैनिकले अफगानिस्तान छोडेयता पहिलोपटक काबुलबाट अन्तर्राष्ट्रिय यात्रुसहितको विमान उडेको छ । कतार एअरवेजको चार्टर्ड फ्लाइट बिहीबार कतारको राजधानी दोहामा अवतरण गरेको हो । दोस्रो उडान शुक्रबार हुँदैछ ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले हालैको कतार भ्रमणका बेला अफगानिस्तानबाट हुने उद्धार प्रयासमा सहयोग गर्न भनेका थिए । अमेरिकाको २० वर्षे सैन्य अभियानका बेला अमेरिकी सैनिकलाई सहयोग गरेका सयौँ अफगानी गत महिना अमेरिकी सैनिकको हवाई उद्धारका बेला काबुलबाट बाहिर जान पाएका छैनन् ।
बिहीबार दोहा अवतरण भएको विमानमा कम्तीमा ११३ जना रहेको समाचार संस्था रोयटर्सले जनाएको छ । बेलायती विदेशमन्त्री डोमिनिक राबले १३ जना ब्रिटिस नागरिक दोहा पुगेको बताएका छन् । अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले वक्तव्य निकालेर बिहीबार भएको उडानमा आफ्ना नागरिक पनि रहेको पुष्टि गरेको छ ।
अमेरिकाले कतारलाई धन्यवादसमेत दिएको छ । अमेरिकी नागरिकहरुलाई अफगानिस्तानबाट बाहिर जान दिन तालिबानहरुले सहयोग गरिरहेको उल्लेख गरिएको छ । क्यानडाले पनि आफ्ना ४३ जना नागरिक विमानमा रहेको पुष्टि गरेको छ । यस्तै सो विमानमा नेदरल्याण्ड्सका १३ जना थिए ।
गएको अगस्ट १५ मा काबुल नियन्त्रणमा लिएको तालिबानले हाल अफगानिस्तानमा अन्तरिम सरकार गठन गरेको छ । अगस्ट ३१ सम्म अमेरिकी सैनिकको नियन्त्रणमा रहेको काबुल विमानस्थल हाल तालिबानको कब्जामा छ ।