भदौ २५, २०७८ शुक्रबार

अफगानिस्तानमा राजधानी काबुलको एक पुलिस स्टेशनमा तालिबानहरूले ती दुई जना पत्रकारलाई बन्धक बनाएर मरणासन्न हुनेगरी कुटपिट गरेको अन्तरराष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

काबुलमा आफ्नो अधिकारका लागि प्रदर्शनमा उत्रिएका महिलाहरूको समाचार सङ्कलन गरेको अभियोगमा ती दुई जना पत्रकारलाई हिरासतमा लिएर चरम यातना दिइएको समाचारमा जनाइएको छ ।

ताकी दारयबी नाम गरेका पत्रकारले आफूलाई हिरासतमा सात/आठ जना तालिबानी लडाकुको समूहले निर्घात कुटपिट गरेको बताएका छन् । उनका अनुसार तालिबानीहरुले लौराले सक्दो प्रहार गरेका थिए र मरे भनेर मात्र कुट्न छाडेका थिए ।


कुटपिटपश्चात् दुवै पत्रकारलाई अन्य कैदीहरू रहेको कोठामा लगेर राखिएको थियो । तालिबान सत्ताबारे अन्तरराष्ट्रिय समुदायको चासो बढिरहेका बेला महिलाको प्रदर्शनको समाचार लेख्ने ती दुई जना पत्रकारले कुटाइ खाएका हुन् ।

सामाजिक सञ्जाल ट्विटरमा राखिएका विभिन्न तस्बिरमा तालिबानले पत्रकारलाई लठ्ठीले हिर्काएको देखिन्छ । ती पत्रकारको अनुहार र शरीरका विभिन्न भागमा निलडाम देख्न सकिन्छ ।


महिला अधिकारबारे समाचार लेख्ने उनीहरूलाई बाहिरी बस्त्र खोल्न लगाएर तालिबानले निर्मम ढंगले कुटेको जनाइएको छ । कुटाइका कारण उनीहरूको पिठ्युँ, ढाड र कम्ममार रातो तथा निल डाम देखिन्छ ।


आफूलाई सरकारमा सहभागी नगराएको र विभिन्न अधिकार कटौती गरेको भन्दै काबुलमा महिलाले प्रदर्शन गर्दै आएका छन् ।