तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) बाँडफाँड गरेको छ । मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको थियो । जस अनुसार ७४ हजार ४ सय जना आवेदकहरूले १० कित्ताका दरले सेयर हात पारेका छन् । बाँकी २२ लाख ८१ हजार ४७ जनाको भने हात खाली भएको छ । अन्तिम दिनसम्म २३ लाख ५५ हजार ७ सय ४७ जना आवेदकले २ करोड ९३ लाख ७८ हजार ४ सय कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये ८ हजार ८ सय २० जनाको आवेदन रद्द भएको छ । बाँकी २३ लाख ४६ हजार ६ सय २७ जनाको आवेदन मात्र योग्य थियो ।
आईपीओ बाँडफाँडको काम सम्पन्न भईसकेको भएपनि डाटा अपलोड गर्न केही समय लाग्ने भएकाले आईपीओको नतिजा हेर्न भने केही समय कुर्नुपर्ने हुन्छ । रिजल्ट सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएको (https;//iporesult.cdsc.com/) नामक वेभसाइटबाट, एनआईबिएल एस क्यापिटल लिमिटेडको वेभसाइट (https://niblcapital.com/) र मेरो सेयरबाट पनि हेर्न सकिने छ ।