भदौ २५, २०७८ शुक्रबार

अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले सिनियर अन्तर्राष्ट्रिय फुटबलमा सातौँ ह्याट्रिक गरेका छन्। विश्वकप २०२२ को दक्षिण अमेरिकी छनोटअन्तर्गत शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले बोलिभियालाई ३-० गोलले हराउँदा तीनवटै गोल मेस्सीले गरे।

मेस्सीले अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो गोल संख्या ७९ पुर्‍याएका छन्। उनी अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचिमा सक्रिय खेलाडीमध्ये दोस्रो र समग्रमा छैटौँ स्थानमा रहेका छन्। पोर्चुगलका क्रिष्टियानो रोनाल्डो एक सय ११ गोलसहित शीर्षस्थानमा छन्।

इरान अली दाइले १ सय ९, मलेसियाका मोख्तर दहारीले ८९, हंगेरीका फेरेङ्क पुस्कासले ८४ र जाम्बियाका गडफ्रे चितालुले ७९ गोल गरेका छन्। चितालुभन्दा मेस्सीले बढी खेल खेलेका छन्। मेस्सीले एक सय ५५ खेल खेल्दै  ७९ गोल गरेका हुन्। चितालुले एक सय ११ खेल खेलेका थिए।

ह्याट्रिकपछि मेस्सीले ब्राजिलका महान् खेलाडी पेलेलाई पछाडि पारेका छन्। पेलेले ९२ खेल खेल्दै ७७ गोल गरेका थिए। घरेलु मैदानमा १४ औँ मिनेटमा पहिलो गोल गरेका मेस्सीले ८८ औँ मिनेटमा ह्याट्रिक पुरा गरेका थिए। उनले दोस्रो गोल ६४ औँ मिनेटमा गरेका हुन्। मेस्सीले ४१ महिनापछि अन्तर्राष्ट्रिय फुटबलमा पहिलो ह्याट्रिक गरेका हुन्। उनले अन्तिमपटक सन् २०१८ को मेमा हाइटीविरुद्ध भएको मैत्रिपूर्ण खेलमा ४ गोल गरेका थिए।

सन् २०११ मा स्वीट्जरल्यान्डविरुद्ध करियरको पहिलो ह्याट्रिक गरेका मेस्सीले त्यसपछि सन् २०१२ मा ब्राजिलविरुद्ध, सन् २०१३ मा ग्वाटेमालाविरुद्ध, सन् २०१६ मा पनामाविरुद्ध र सन् २०१७ मा इक्वेडरविरुद्ध पनि ह्याट्रिक गरेका थिए। मेस्सीले अन्तर्राष्ट्रिय फुटबलमा ११ पटक २ गोल गरेका छन्। उनले क्लब फुटबलमा भने अन्तिमपटक सन् २०२० को फेब्रुअरीमा ह्याट्रिक गरेका थिए। त्यतिबेला उनले एइबरविरुद्ध ४ गोल गरेका थिए।

बोलिभियाविरुद्ध प्राप्त सफलतापछि अर्जेन्टिना ८ खेलबाट १८ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ। शीर्षस्थानमा रहेको ब्राजिलको ८ खेलबाट २४ अंक छ। शुक्रबार भएका अन्य खेलमा ब्राजिलले पेरुलाई २-० गोलले, कोलम्बियाले चिलेलाई ३-१ र उरुग्वेले इक्वेडरलाई १-० गोलले हराए।