भदौ २५, २०७८ शुक्रबार

 ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पहाडको भूक्षयबारे अनुसन्धान गरी त्यसको अवसरबारे तथ्य प्रस्तुत गर्न जोड दिएकी छन्।

जलस्रोत अनुसन्धान तथा विकास केन्द्रको छैटौँ वार्षिकोत्सव शुक्रबार उद्घाटन गर्दै मन्त्री भुसालले तराईमा हुने डुबानको मुख्य कारण पहाडको भूक्षय भएकाले यसको अध्ययन महत्वपूर्ण भएको औंल्याएकी हुन्।

‘तराईमा हुने डुबानको कारण पहाडको भूक्षय हो’, मन्त्री भुसालले भनिन्, ‘त्यसैले पहाडको भूक्षयबारे अनुसन्धान गर्नुपर्छ, त्यसको अवसरबारे तथ्य प्रस्तुत गर्नुपर्छ।’

देशको तराई बेल्ट अर्थात् विशेष गरेर प्रदेश २ का नागरिकले धेरैभन्दा धेरै डुबानको समस्या लिएर आफूकहाँ आउने गरेको उनले जानकारी दिइन्।

उनले सिँचाइका समस्यालाई केन्द्रित गरेर अनुसन्धान गरी समाधान खोज्नेतर्फ लाग्नुपर्नेमा समेत जोड दिइन्।

कृषि, जलविद्युत् एवं पर्यटनजस्ता विकासका आधारभूत क्षेत्रलाई ध्यान दिनुपर्ने उनले बताइन्।

आवश्यकताअनुसार प्रविधि तथा जनशक्ति उपलब्ध गराउनका लागि आफूले पहल गर्ने विश्वास दिलाउँदै मन्त्री भुसालले जलवायु परिवर्तनले ल्याएको विपत्तिका सन्दर्भमा ध्यान दिन पनि निर्देशन दिइन्।

उनले संघ, प्रदेश र स्थानीय तहसम्म भएका भौतिक पूर्वाधार विकासका कारण उत्पन्न वातावरणीय एवं जलवायु परिवर्तनका प्रभावबारे गहिरो अनुसन्धान गर्नुपर्ने आवश्यकता रहेको बताइन्।

मन्त्री भुसालले अनुसन्धानमा काम गर्नेहरू जागिरेमात्र नभई कर्तव्यबोध भएर आफ्नो काममा खटिनुपर्ने औंल्याइन्।

कार्यक्रममा ऊर्जा सचिव देवेन्द्र कार्कीले कार्य क्षेत्रमा केन्द्रित भएर अनुसन्धानलाई अगाडि बढाउनुपर्ने बताए।

जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राईले नदी नियन्त्रण एवं नदीले बगाएर ल्याउने गेग्रानका विषयमा पनि अनुसन्धान गर्नुपर्ने सुझाव दिए।

कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक डा महेश्वर श्रेष्ठले अनुसन्धानका क्षेत्रसँग सम्बन्धित जटिलताबारे जानकारी गराएका थिए।