काठमाडौं, भदौ २५ गते । नेपाल र पपुवान्यूगिनीबीचको दोस्रो तथा अन्तिम अन्तर्राष्ट्रिय एकदिवसीय खेल आज हुँदै छ । खेल दिवा रात्री हुने भएकाले नेपाली समयअनुसार चार बजेदेखि सुरु हुनेछ ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ को तयारी स्वरूप नेपालले पपुवान्यूगिनीविरुद्ध दुई खेलको एकदिवसीय शृङ्खला खेल्ने तालिकाबमोजिम आज दोस्रो तथा अन्तिम एकदिवसीय हुन लागेको छ । पहिलो एकदिवसीय खेलमा नेपालले दुई विकेटको कठीन जित निकालेको थियो । अमेरिकाले भने पपुवान्यूगिनीमाथि दुबै एकदिवसीय खेलमा सहज जित हात पारेको छ । बिहीबार सम्पन्न अमेरिका र पपुवान्यूगिनीबीचको खेलमा अमेरिकाले १३४ रनको विशाल अन्तरको जित हात पार्यो ।
नेपालको ब्याटिङ भने स्थिर देखिएको छैन् । पहिलो एकदिवसीय खेलमा ४६ रनमा कुनै विकेट नगुमाएको नेपालले थप ३६ रन जोडन मध्यक्रमका पाँच जना ब्याट्सम्यानलाई सस्तोमै गुमायो । बलिङ प्रभावकारी भएर पपुवान्यूगिनीलाई १३४ रनमै समेटदा नेपालले पहिलो एकदिवसीय खेलमा कठीनाइपूर्बक जित हात पार्न सम्भब बनायो ।
नेपाली क्रिकेट टोलि हाल ओमान भ्रमणमा रहेको छ । ओमानमै तयारी स्वरुप पपुवान्यूगिनीसँग दुई खेलको एकदिवसीय स्पर्धा हुँदै छ । उक्त स्पर्धा सके लगत्तै नेपालले ओमान र अमेरिका सम्मिलित लिग –२ को खेल सुरु गर्नेछ । लिग–२ मा ओमान भ्रमणको क्रममा नेपालले चार अन्तर्राष्ट्रिय एकदिवसीय खेल्नेछ । दुई एकदिवसीय ओमान विरुद्ध र दुई अमेरिका विरुद्ध हुनेछ । दुबै टोलिले बिगत्को अपेक्षा सुधारिएको प्रदर्शन गरिरहँदा नेपालको ब्याटिङ पुनः चिन्ताजनक अवस्थामा पुगेको छ । ओमान र अमेरिका सम्मिलित लिग–२ को खेल सुरु हुनु अघि नेपालले आफ्नो स्थिति बलियो बनाउन पपुवान्यूगिनीविरुद्धको खेलमा जित हात पार्नेपर्ने हुन्छ ।
लिग–२ मा नेपाल हाल पूछारबाट दोस्रो स्थानमा छ । सात टोलि रहेको लिग–२ मा चार खेलबाट नेपालले दुई खेल मात्रै जित्न सकेको छ भने ओमान शीर्ष स्थानमा छ ।