धनगढी,२६ भदौ । कैलालीको गोदावरी नगरपालिकाका १० मोहनपुरका पन्तले अहिले करिब ६ बिघा जमिन लिजमा लिएर फलफूल खेती गर्दै आइरहेका छन् ।
अर्काको बारीमा १० वर्ष पहरेदारको काम गरेका पन्तले अहिले आफैले गेटा मोहनपुरमा ६ बिघा क्षेत्रफलमा विगत ६ महिनादेखि फलफूल खेती गरिरहेका छन् । फलफूल खेतीबाटै मनग्य आम्दानी देखेपछि आफूले विगत ६ महिनादेखि फलफूल खेतीतर्फ लागेको बताए । अहिले उनले करिब ६ बिघा जमिनमा आँप र अम्बा लगाएका छन् । वार्षिक दश लाख दिने गरी जमिन लिजमा लिएको पन्तले बताए ।
“विगत १० वर्ष सम्म अर्काको बारीमा पहरेदारको रुपमा काम गरेको थिए, अहिले आफैले जमिन लिजमा लिएर फलफूल खेती गरिरहेको छु । अहिले परिवारको खर्च धान्न पनि पुगेकै छ । काम गर्ने हो भने विदेश जानु नै पर्छ भन्ने छैन्,” उनले भने ।
सानै देखि कृषिमा लागेकोले आफूले सो सोच बनाएको रघुनाथ पन्तको भनाइ छ । अहिले परिवारमा ८ जना सदस्य रहेको बताउँदै आफूले सहजै रुपमा परिवारलाई पाल्न सकेको उनी बताउँछ । उनले कृर्षी क्षेत्रमै लागेर घर जोड्न समेत सफल भएको उनको भनाई छ। अहिले आँपको सिजन नभए पनि अम्बा बिक्री गरिरहेको बताए ।
“अहिले आँपको सिजन छैन, अम्बा बिक्री गरिरहेको छुँ । अहिले अम्बा दैनिक १० हजार जतिको अम्बा बजार जाने गरेको छ”, उनले भने, “अम्बा दुई सिजनमा फल्ने फल्छ । सिजन अनुसार आँप र अम्बाको खेती गरिरहेको छुँ ।”
अहिले पन्तले थप तीन जनालाई रोजगारी समेत दिएका छन् । बजारको माग बढ्दो भए पनि आफूहरूले मागअनुसारको फलफूल बजारमा पठाउन नसकेको पन्तको भनाइ छ ।
“अत्तरिया भन्दा धनगढीमा बढी जाने गरेको छ,” उनले भने, “अहिले छिटपुटमा पनि आफूले फलफूल बेच्दै बेच्दै आइरहेका छौ, अब भविष्यमा यसलाई थप व्यवस्थापन गरेर फलफूल खेतीलाई अगाडी बढाउने सोचमा छुँ।” रघुनाथका जेठा छोरा घनश्याम पन्तले पनि काममा सघाइरहेको उनी बताउँछन् ।