भदौ २७, २०७८ आइतबार

दोस्रो मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय महिला टोलीले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बेलुका ५ बजेपछि सुरु हुनेछ।

महिला एसियन कप छनोटको तयारीमा रहेका दुई टोलीबीच मैत्रीपूर्ण खेल हुन लागेको हो। यसअघि गएको बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई २–१ ले पराजित गरेको थियो । नेपालका लागि सविना राना र प्रीति राईले गोल गरेका थिए।

नेपाल र बंगलादेश एसियन कप छनोट खेल्न तटस्थ स्थान उज्बेकिस्तान जाँदै छन्। छनोटमा नेपाल समूह ‘एफ’ मा छ। यस समूहमा फिलिपिन्स र हङकङ पनि छन्। नेपालले सेप्टेम्बर १८ मा फिलिपिन्स र सेप्टेम्बर २१ मा हङकङसँग खेल्नेछ । यस समूहको विजेता बने नेपाल अर्को वर्ष भारतमा हुने एसिया कपमा छनोट हुनेछ।

बंगलादेश छनोटको समूह ‘जी’ मा छ। यो समूहमा जोर्डन र इरान पनि छन्।