भदौ १७, २०८२ मंगलबार

जलेश्वर (महोत्तरी), १७ भदौः गत साउनमा आएको वर्षापछिको डुबानले धानखेती नष्ट भएपछि जलेश्वर नगरपालिका-८ का किसानले विकल्पमा सिँघाराखेती गर्न थालेका छन् । यहाँको करिब २०० बिघा क्षेत्रफलमा लगाइएको धानबाली डुबान नष्ट गरेपछि किसानहरूले अहिले वैकल्पिक रूपमा सिँघाराखेती गर्न थालेका हुन् । 
    
    समयमा पानी नपरेपछि ढिलो गरी रोपाइँ गरेका यहाँका किसानको बाली रातो खोलामा थुनेर राखिएको पानीले बाढीको रुप लिएपछि करिब २०० बिघा क्षेत्रफलको धानखेती नष्ट भएको थियो ।
    
    पुनःधानखेती गर्न नसकिने गरी खेतका फाँटहरूमा पानी भरिएपछि वैकल्पिक रूपमा सिँघाराखेती गर्न थालिएको किसान मनोज साहले बताउनुभयो । यस क्षेत्रमा बर्सेनि धानखेती डुबानमा पर्ने गरेको भन्दै यसले आर्थिक क्षतिका साथै शारीरिक परिश्रमसमेत खेर जाने गरेको उहाँको भनाइ छ । उहाँका अनुसार अहिले यहाँका दर्जनौँ किसान वैकल्पिक रूपमा सिँघाराखेतीतर्फ आकर्षित हुँदै गएका छन् ।

    प्रत्येक वर्ष रोपेको धानबाली डुबेर आर्थिक क्षति भइरहेको देखेपछि कम लगानी र मेहनतमा मनग्य आम्दानी हुने सिँघाराखेतीतर्फ किसान आकर्षित हुँदै गएका स्थानीय चन्देश्वर साहले बताउनुभयो । यहाँमात्रै नभएर धानखेतीको सुनिश्चित नहुने क्षेत्रमा कम लगानी गरी मनग्य आम्दानी हुने भएको विकल्प छनोट गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

    सदरमुकाम जलेश्वर र वरिपरिका सयौँ बिघा पानी जमेर धानबाली नष्ट भएपछि विकल्पमा सिँघारा (फल) खेती सुरु गरिएको जलेश्वर नगरपालिका–१ वडाध्यक्ष अनिलकुमार झाले बताउनुभयो । उहाँका अनुसार जमेको पानीमुनि लहरामा फल्ने सिँघारा एक प्रकारको गुलियो फल हो । यो फल स्वास्थ्यका पोष्टिकतत्वले भरिएको हुने भएकाले स्थानीस्तरमा लोकप्रिय छ ।

    गत साउन १५ पछि आएको बाढीका कारण जलेश्वरका अधिकांश खेती डुबानमा परेपछि किसानको सहजताका लागि खेत तथा पोखरीमा सिँघाराखेती सुरु गरिएको जलेश्वर–२ का वडाध्यक्ष वरुण दाहालले बताउनुभयो ।

    वर्षांैदेखि बाँझो रहेको जलाशयमा यहाँ ५०-६० परिवारले खेती सुरु गरेका जलेश्वर-४ का किसान रामजनम सहनीले बताउनुभयो । स्वाद मीठो र लोकप्रिय सिँघारा असोजदेखि बिक्रीका लागि तयारी हुन्छ । सिँघारा प्रतिकिलो रु १२० देखि १८० सम्म बिक्री हुने भएकाले लाखौँ आम्दानी गर्न सकिने जलेश्वर-२ का दिलचन मुखियाले जानकारी दिनुभयो । 

    मिथिलाञ्चलमा पूजाआजा गर्दा प्रसादका रूपमा प्रयोग हुने सिँघारा बालबालिका, बूढापाका र पेटका रोगीले बढी मनपराउने किसान जीबछ मोमिनले बताउनुभयो । सिँघारा बेचेर प्रतिकिसान रु दुई-तीन लाखसम्म आम्दानी गर्न सकिने जलेश्वर-९ का किसान सिया यादवको भनाइ छ ।

    बाह्रै मास पानीले भरिभराउ रहने जलेश्वर र वरपरका क्षेत्रमा सिँघाराको व्यावसायिक खेती प्रवर्द्धन र विकासका लागि महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने स्थानीय कृषि कार्यालयसँग सयौँ बिघामा हुने सिँघाराखेतीबारे कुनै अभिलेख छैन ।

    जलेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शिवचन्द्र चौधरीले सिँघाराखेतीलाई प्रवर्द्धन गर्नुपर्ने र मौसमी उद्योगका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । यो खेती गर्ने किसानका लागि सङ्घले विशेष योजनासहित प्रोत्साहनमूलक कार्यक्रम ल्याउने उहाँले प्रतिबद्धता जनाउनुभयो ।