असोज २, २०८२ बिहिबार

म्याग्दी, २ असोज : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ घराम्दी र टिकोटका किसानले जैविक विधिबाट तरकारी खेती गरेका छन् । खर्चिलो र मानव स्वास्थ्यका लागि प्रतिकूल मानिएको रासायनिक विषादी र मलको विकल्पमा घरेलु विधीबाट तरकारी, खाद्यबाली र आलु खेती गरेका हुन् । आलु खेतीको पकेट क्षेत्र टिकोट र घराम्दीका बासिन्दाले बन्दा, काउली, साग, किबी, गोलभेडा, काँक्रो, सिमी लगायत मौसमी तथा बेमौसमी तरकारी खेती गरेका छन् । 

यहाँ ५० जना भन्दा बढी व्यवसायिक किसान छन् । टिकोटका किसान टिका तिलिजा पुनले तरकारीमा रोगकिरा लाग्न नदिन र नियन्त्रण गर्नका लागि गाईभँैसीको मलमूत्र प्रयोग गरेको बताउनुभयो । 

“पलास्टिकको बोतलमा सङ्कलन गरेर राखेको गाईभैँसीको मूत्रलाई आवश्यक पर्दा बिरुवाको जरा, जरामा हाल्छौँ,” उहाँले भन्नुभयो “टीकोटमा रासायनिक मल पनि अहिलेसम्म भित्रिएको छैन् ।” टिकोट र घराम्दीमा करिब दुई सय ५० घरपरिवारको बसोबास छ । यहाँका किसानको प्रत्येक गोठमा गाईभँैसीको मुत्र सङ्कलन गरेर राखेका छन् । पिसाबमा भएको किटाणुलाई नष्ट गर्ने क्षमता कायमै राख्नका लागि बन्द बोतल प्रयोग गरेका हुन् । 

मल र गहुँतका लागि किसानले घरघरमा गाईभँैसी र गोरु पालेका छन् । जङलबाट स्याउला र सोत्तर कुहाएर मल बनाउने गरेका छन् । गहुँतमा बोझो, केतुकी, खुर्सानी, टिम्मुरको पातको टुक्रा मिसाएर बनाएको जैविक विषादी प्रभावकारी हुने घराम्दीका किसान गमप्रसाद फगामीले बताउनुभयो । 

“तापक्रम वृद्धि र मौसम परिवर्तनको असरले पछिल्लो समय नयाँ कीरा देखिएका छन,” उहाँले भन्नुभयो “मैले जानकारी पाएसम्म यो गाउँमा विषादी र रासायनिक मल प्रयोग गरिएको छैन् ।” 
“जैविक विधिबाट उत्पादन भएको आलु र तरकारी स्वच्छ हुने भएकाले बजारमा माग उच्च छ,” उहाँले भन्नुभयो “मूल्य पनि राम्रो पाएको छ ।” बेनी, कुश्मा, बागलुङ र पोखरामा टिकोट र घराम्दीको आलु तथा तरकारी खपत हुन्छ । आलु र बन्दाखेती यहाँका बासिन्दाको प्रमुख आयस्रोत हो । 

यहाँबाट वार्षिक रु दुई करोड भन्दा बढी मूल्यको आलु र रु. एक करोड बराबरको बन्दा बिक्री हुने गरेको अन्नपूर्ण गाउँपालिका–७ का वडा सदस्यसमेत रहेका टिकोटका व्यावसायिक किसान वुद्धिविर पुनले बताउनुभयो । 

टिकोट र घराम्दी समुन्द्रि सतहदेखि दुई हजार तीन सय मिटर उचाइमा रहेको छ । चिसो हावापानीमा जैविक विधिबाट उत्पादन भएको तरकारी स्वस्थकर र स्वादिलो हुने भएकाले उपभोक्ताको रोजाईमा परेको छ । अन्नपूर्ण गाउँपालिकाले टिकोटमा तरकारी पकेट कार्यक्रम सञ्चालन गरेको कृषि अधिकृत श्याम शरण कुर्मीले बताउनुभयो । कार्यक्रममार्फत कसानलाई तरकारी खेतीका लागि आवश्यक बीउ, टनेल, सिँचाइ सामग्री उपलब्ध गराएको उहाँले बताउनुभयो ।