भदौ २९, २०७८ मंगलबार

फाइल तस्बिर

नेपाल विद्युत प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै असोज १५ गतेभित्र नियमानुसार सम्झौता नगरे आफ्नो संरचना प्रयोग गरेका तर भाडा नतिरेका टेलिफोन र इन्टरनेट सेवा प्रदायकको तार काट्ने जनाएको छ ।


नेपालका अधिकांश इन्टरनेट तथा टेलिफोन सेवा प्रदायकहरूले नेपाल विद्युत् प्राधिकरणको पोललगायत संरचना प्रयोग गरी सेवा विस्तार गरिरहेका छन् । विद्युत् प्राधिकरणमा नेपाल सरकारको पूर्ण स्वामित्व छ ।

सम्झौता नै नगरी संरचना प्रयोग गर्ने, प्रयोग गरेर पनि सोबापत प्राधिकरणलाई भाडा नै नबुझाउने, जीपीएस कोर्डिनेशन नक्सा र दुरी खुल्ने कागजातसमेत नदिने गरेको प्राधिकरणले जनाएको छ ।

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) का अध्यक्ष सुधीर पराजुुलीले प्राधिकरणको संरचना प्रयोग गरेबापतको भाडादर निकै महंगो भएकाले आफूहरूले भुक्तानी नगरेको बताए ।

प्राधिकरणले २०७६ सालमा आफ्नो पोल र अप्टिकल फाइबर नेटवर्क प्रयोग भाडा ५०० प्रतिशतसम्म बढाएको थियो । इन्टरनेट र केबल टेलिभिजन सेवा प्रदायकले विरोध जनाएपछि अध्ययन समिति गठन गरी भाडादर करिब आधाले घटाएको थियो । घटाइएको दरमा पनि भाडा तिर्न नसकिने पराजुुलीले बताए ।