भदौ २९, २०७८ मंगलबार

फाइल तस्बिर

२९ भदौ, चितवन । धुर्मस–सुन्तली फाउण्डेशनका अनुसार  चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम आर्थिक सङ्कटका कारण रोकिएको छ ।

उधारो आर्थिक व्ययभार बढ्दै गएको तथा केन्द्रीय सरकारबाट आर्थिक सहयोग नभएकाले साउन १५ गतेदेखि रङ्गशाला निर्माणको काम रोकिएको निर्माण पक्ष धुर्मस–सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले बताएका छन् ।

जनस्तरबाट रकम उठ्ने सम्भावना पनि नभएको र सरकारले पनि नदिने भएपछि भीआईपी प्याराफिट बनाउने काम रोकिएको छ । रङ्गशाला निर्माणमा हालका दिनमा कसैले पनि सहयोग नगरेको कट्टेलले गुनासो गरेेका छन् । 

रङ्गशालाको भौतिक पूर्वाधारको ३५ प्रतिशत काम सकिएको छ । मैदानमा पिचबाहेकको काम सकिएको छ ।


रङ्गशालामा अहिलेसम्म ५४ करोड ६२ लाख २१ हजार १३ रुपैयाँ खर्च भैसकेको छ । १६ करोड २ लाख रकम तिर्न बाँकी छ । ३८ करोड ५९ लाख ३२ हजार ७ सय ४१ रुपैयाँमात्रै भुक्तानी गरिएको रङ्गशाला निर्माण परियोजनाको आर्थिक प्रशासन शाखाका मुक्ति तिमिल्सिनाले बताए ।