दमौली (तनहुँ), १४ असोजः तनहुँको आँबुखैरेनी गाउँपालिकामा विस्तार गरिएको हाटबजारले कृषक र उपभोक्तालाई कृषि उपज सामग्री बिक्री र खरिदमा सहज भएको छ । गाउँपालिकाले दुई साता अगाडिदेखि आँबुखैरेनी गाउँपालिका–२ स्थित सिद्धिगणेश टोलमा हाटबजार विस्तार गरेको थियो ।
यसअघि सोही वडाको गाउँपालिका कार्यालय नजिक प्रत्येक शुक्रबार हाटबजार लाग्ने गरेको थियो । अब सोमबार र शुक्रबार दुवै ठाउँमा हाटबजार सञ्चालन हुने भएपछि कृषि उपज सामग्री बिक्री र खरिदमा सहज भएको छ ।
स्थानीय मनोजकुमार श्रेष्ठले हप्ताको दुई दिन हाटबजार लाग्ने भएपछि कृषकले सहज रुपमा सामग्री बिक्री गर्न पाउनाका साथै उपभोक्तालाई पनि ताजा सामग्री किन्ने अवसर मिलेको बताउनुभयो । उहाँले भन्नुभयो, “विगत एक वर्ष पहिलादेखि शुक्रबारे हाटबजार लाग्दै आएको हो, एक दिन मात्रै लाग्दा कृषक र उपभोक्तालाई पनि समस्या थियो, अब हप्ताको दुई दिन हाटबजार लाग्ने भएपछि कृषि उपज बजारीकरणमा पनि ठूलो टेवा मिल्ने भयो ।”
कृषक र उपभोक्ताहरुको मागबमोजिम कृषि बजारीकरणलाई थप प्रोत्साहन गर्न हाटबजार विस्तार गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । हाटबजार विस्तार भएसँगै अब कृषकले सहज रुपमा कृषि उपज बिक्री गर्न पाउने र उपभोक्ताले पनि कृषि उपज खरिद गर्ने वातावरण निर्माण भएको चुमानले बताउनुभयो । चुमानले भन्नुभयो, “हाटबजार स्थानीय कृषकले उत्पादन गरेका कृषि उपज सामग्री बिक्रीका लागि प्रभावकारी बनेको छ, एक ठाउँमा मात्रै साताव्यापी रुपमा हाटबजार सञ्चालन भएकामा अब दुई ठाउँमा सञ्चालन हुँदा कृषक र उपभोक्तालाई थप सहज हुनेछ ।”
गाउँपालिकाका उपाध्यक्ष दुर्गा अर्यालले पालिकाले कृषि र पशुपालनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । कृषिमा आबद्ध कृषकलाई हौसला दिन पालिकाले कृषि केन्द्रित कार्यक्रम र योजना सञ्चालन गरेको उहाँको भनाइ छ ।
गाउँपालिकाले हाल सञ्चालन गरेको हाटबजारमा स्थानीय उत्पादन खरिद–बिक्रीका लागि प्रत्येक शुक्रबार बिहानदेखि भीड लाग्ने गरेको छ । विसं २०८० फागुनदेखि सञ्चालित हाटबजार कृषक र उपभोक्तालाई प्रत्यक्ष जोड्न सफल भएको छ । कृषकले आफूले उत्पादन गरेका सामग्री बजारीकरणका लागि हाटबजार प्रभावकारी बनेको छ ।
हाटबजारले आँबुखैरेनीको मात्रै नभई आसपासका स्थानीय तहको पनि ध्यान खिचेको गाउँपालिकाका कृषि शाखाप्रमुख सन्तोष केसीले जानकारी दिनुभयो । हाटबजारमा स्थानीय मह, गोलभेडा, सिस्नु, गिठ्ठा, अमला, बेथेको साग, फर्सीको मुन्टा, दही, मही, सिब्लीगानलगायत दैनिक उपभोग्य वस्तु बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको छ । हाटबजारमा स्थानीय उत्पादन बिक्री वितरणको व्यवस्था मिलाएपछि उपभोक्तालाई सहज भएको केसीको भनाइ छ ।