सिरहा- कोभिड–१९ महामारी नियन्त्रणका लागि चाहिने सामग्रीमा झुल पर्दैन तर सिरहाको औरही गाउँपालिकाले कोरोना नियन्त्रणका लागि भन्दै ५३ लाख ६९ हजार १९५ रुपैयाँ बराबरको झुल खरिद गरेर वितरण गरेको देखाइएको छ ।
झुल खरिद कार्य प्रकोपजन्य क्रियाकलाप नभएकोले वितरणमुखी कार्यक्रम भएको महालेखा परीक्षक कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।
कोभिड–१९ महामारी नियन्त्रणका लागि गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय सिरहामा खर्च विवरण पेस गरेको थियो । सो विवरणमा साढे ५३ लाख रुपैयाँ झुल वितरण गर्ने उल्लेख रहे पनि झुल खरिद गरिएको थिएन । त्यसपछि जिल्ला प्रशासन कार्यालयले ‘कोरोना नियन्त्रणमा यो झुलको के आवश्यकता छ ? क्वारेन्टिनसम्मका लागि त ठिकै हो, गाउँका अन्यलाई पनि झुल वितरण गर्नुको कारण के हो ?’ भनेर गाउँपालिकालाई सोधेको थियो ।