बेलायतले चिनियाँ राजदूतलाई संसदमा आउन नपाउने गरी प्रतिबन्ध लगाएको छ। बेलायतका लागि चिनियाँ राजदूत झेंग जेगुआङ्गले बेलायती संसदको स्वागत समारोहमा सहभागी हुन नपाउने भएका हुन्।
चीनका सम्बन्धमा सर्वदलीय समूहको आयोजनामा बुधबार हाउस अफ कमन्समा स्वागत कार्यक्रम हुँदैछ। तर सो समारोहमा राजदूत झेंग जान नपाउने भएका हुन्।
बेलायतका पाँच सांसद तथा उनीहरुका दुई सहकर्मीमाथि लगाएको प्रतिबन्ध कायम रहेसम्म राजदूत झेंग संसदमा आउन नपाउने भएका हुन्।
स्वागत कार्यक्रम हुने भएपछि चर्किएको विरोधका कारण सभामुख सर लिन्से होली र हाउस अफ लर्डका सभामुख लर्ड म्याकफलले प्रतिबन्ध नहटेसम्म राजदूत संसदका कार्यक्रममा सहभागी हुन नपाउने आदेश जारी गरेका हुन्।
बेलायतस्थित चिनियाँ दूतावासले प्रतिबन्धको निर्णय निन्दनीय र कायरपन रहेको बताएको छ। यसले दुवै देशको हितलाई असर गर्ने उसले बताएको छ।
बेलायत र चीनबीचको सम्बन्ध तनावपूर्ण बनेका बेला राजदूत झेंगमाथि संसदीय कार्यक्रममा सामेल हुन नपाउने गरी बन्देज गरिएको हो। चीनले बेलायतको लागि राजदूत नियुक्त गरेपछि उनले गत जुलाईमा बेलायती महाराजी एलिजोबेथसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका थिए।
गएको मार्चमा चीनले बेलायतका पाँच सांसद र उनीहरुका दुई सहकर्मीमाथि यात्रा प्रतिबन्ध लगाउँदै सम्पत्ति फ्रीज गरेको थियो। आफ्नो देशका सम्बन्धमा गलत सूचना प्रवाह गरेको आरोपमा उनीहरुमाथि चीनले प्रतिबन्ध लगाएको हो। सिन्जियाङ्गमा मानव अधिकारको उल्लंघन भएको भन्दै बेलायतीले चिनियाँ अधिकारीमाथि प्रतिबन्ध लगाएको जवाफमा चीनले सांसदमाथि प्रतिबन्ध लगाएको हो।