फागुन २३, २०७७ आइतबार

तस्बिर - क्यान

काठमाडौं : काठमाडौँ मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा वागमती प्रदेशले लगातार दोस्रो खेलमा हार व्यहोरेको छ ।

आइतबार भएको खेलमा काठमाडौँ मेयर–११ सँग ९४ रनले पराजित हुँदै वागमतीले लगातार दोस्रो हार व्यहोरेको हो । पहिलो खेलमा वागमती नेपाल पुलिस क्लबसँग दुई रनले पराजित भएको थियो ।

मूलपानी क्रिकेट मैदानमा भएको मेयर ११ ले आफ्नो पहिलो खेलमा राष्ट्रिय टोलीका प्रमुख क्रिकेटर रहेको वागमतीलाई हराएको हो । काठमाडौं मेयर ११ ले प्रस्तुत गरेको दुई सय ४५ रनको लक्ष्य पछ्याउँदै वागमती प्रदेशले ३४ ओभर तीन बलमा मात्र एक सय ५० रन जोड्न सक्यो ।

वागमतीका लागि पृथु बास्कोटाले सर्वाधिक धेरै ६० रन बनाए । ओपनरसमेत रहेका कप्तान ज्ञानेन्द्र मल्लले १७ तथा आदिल खानले १५ रनको योगदान दिए । पारस खड्काले १० र इशान पाण्डेले १७ रन बनाए ।

वागमतीलाई सस्तोमै समेट्न कप्तानसमेत रहेका लेग स्पीनर सन्दीप लामिछानेले सर्वाधिक तीन तथा विपीन खत्री र अनिल खरेलले दुई–दुई तथा सिद्धान्त लोहनी र कृष्ण कार्कीले एक एक विकेट लिए ।

त्यसअघि, टस हारेर पहिला ब्याटिंग गर्ने निम्ता पाएको काठमाडौंले पूरा ५० ओभर खेल्दै नौ विकेटको क्षतिमा दुई सय ४४ रनको योगफल तयार गरेको थियो । ४३ रनमै पाँच विकेट गुमाएर कमजोर सुरुआत गरेको मेयर ११ ले वागमतीसमक्ष औसत लक्ष्य प्रस्तुत गर्न सफल भएको हो ।

मेयर ११ ले ओपनरद्वय हरिशंकर साह र अर्जून कुमाल तथा विपीन रावलको रूपमा ३६ रनमै तीन विकेट गुमाउन पुग्यो । सन्दीप रजाली ३३ रन, कृष्ण कार्की डकआउट र विवेक यादव एक रन बनाएर पेभेलियन फर्किँदा मेयर ११ ले ४३ रनमै पाँच महत्त्वपूर्ण विकेट गुमायो ।

तर, कप्तान सिद्धान्त लोहनीले सौरभ खनालसँग छैठौं विकेटका लागि ७१ रनको साझेदारी गरेर मेयर ११ को योगफल एक सय १४ रनसम्म लगे । सिद्धान्त ३४ रन बनाएर पेभेलियन फर्किँदा सौरभ खनाल ४९ रनमा अविजित रहे ।

कप्तान सन्दीप लामिछानेले मात्र २० बलमा छ छक्कासहित ४२ रनको उत्कृष्ट पारी खेले । विपीन खत्रीले ३० बलमा ३२ रनको योगदान दिए । वागमतीका लागि नन्दन यादवले दस ओभरमा मात्र ४१ रन खर्चेर महत्त्वपूर्ण चार विकेट लिए । रामनरेश गिरी र अरियो पौडेलले सामान दुई–दुई तथा दीपेश श्रेष्ठले एक विकेट लिए ।