भदौ ३१, २०७८ बिहिबार

एजेन्सी - बुधबार अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनबीच भर्चुअल बैठक सम्पन्न भएपछि अमेरिका, बेलायत र अष्ट्रेलियाले नयाँ सैन्य गठबन्धन बनाएका छन् ।


उक्त बैठकमा नेताहरूले एयुकेयुएस (तीनै देशका नामको छोटो रूप) गठबन्धन घोषणा गरेका हुन्। जसअनुसार अब अमेरिका र बेलायतले अष्ट्रेलियामा  आणवीक (न्युक्लियर)  शक्तिबाट चल्ने सामुद्रिक पनडुब्बी (सबमरिन) बनाउनेलगायत सुरक्षा क्षेत्रका प्रविधिमा सघाउने भएका छन्।

वर्षौंदेखि गठबन्धनमा रहेका यी तीन मुलुकको यो सहकार्य अर्को कदम भएको नेताहरूले बताएका छन्।

बाइडेन, जोन्सन र मोरिसनले बैठकका क्रममा चीनको नाम त लिएनन् तर उनीहरूले बनाएको नयाँ गठबन्धन चीनविरूद्ध लक्षित छ।

पछिल्लो समय चीनले ताइवानलाई दबाब बढाएको छ भने साउथ चाइना सीमा पनि आफ्नो उपस्थिति र दाबी आक्रामक रूपले अघि सारेको छ।

उक्त क्षेत्रमा चीनको प्रभावलाई रोक्न तीन देशले सैन्य गठबन्धन बनाएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

पछिल्लो समय अमेरिकाले चीनविरूद्ध आफ्ना सहयात्रीहरूसँग गठबन्धन कसिलो बनाउँदै लगेको छ। हिन्द-प्रशान्त क्षेत्रमा चिनियाँ प्रभावलाई कम गर्न बनाइएको अर्को गठबन्धन क्वाडका नेताहरूलाई राष्ट्रपति बाइडेनले अर्को साता ह्वाइट हाउस बोलाएका छन्।

क्वाडमा अमेरिका, भारत, अष्ट्रेलिया र जापान छ।

पछिल्लो समय अष्ट्रेलिया र चीनको सम्बन्ध निकै तिक्ततापूर्ण बनेको छ। चार वर्षअघि अष्ट्रेलियाले चिनियाँ कम्पनी हुवावे फाइभजी प्रविधि आफूले प्रयोग नगर्ने बताएको थियो। केही समयअघि अष्ट्रेलियाले कोरोनाभाइरसको उत्पति  चीनमा भएको हुन सक्ने भन्दै गहिरो अध्ययन गर्नुपर्ने बताएपछि चीन अष्ट्रेलियाप्रति आक्रोशित बनेको छ।

यही बेला अमेरिकाले आफ्नो पूरानो मित्र बेलायतलाई पनि साथमा लिएर अष्ट्रेलियालाई बलियो बनाउन खोजेको हो।