काठमाडौँ, भदौ ३१ गते । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार चाडबाडको समयमा दैनिक ३५ देखि ४० किलोसम्म र अन्य सामान्य समयमा दैनिक २५ देखि ३० किलो सुनको माग रहेको छ । हाल व्यवसायीले दैनिक २० किलाका दरले मात्र कच्चा सुन पाउँदै आएका छन् ।
महासङ्घका अध्यक्ष माणिकरत्न अध्यक्ष शाक्यले नेपाल राष्ट्र बैङ्कसँग सुनको सहज आपूर्ति व्यवस्था मिलाइनुपर्ने, क्षेत्रगत रूपमा विभिन्न नौवटा नाकाबाट कच्चा सुन वितरणको व्यवस्था मिलाइनुपर्ने, सुनचाँदी व्यवसायीले सबै बैङ्कका खाता खोल्नुपर्ने बाध्यात्मक व्यवस्था हटाइ एकल खाता प्रणालीमा जानुपर्ने माग राखेका छन् । यस्तै सुन आयातमा बैङ्कको एकाधिकार तोडी निजी क्षेत्रलाई पनि सहभागी गराइनुपर्ने, गोल्ड एक्सचेन्ज स्थापनाका लागि पहल गर्नुपर्ने, कोरोना प्रभावित सुनचाँदी व्यवसायीलाई पुनर्कर्जाको व्यवस्था मिलाइनुपर्ने, चाँदीको आयातलाई व्यवस्थित बनाइनुपर्नेलगायतका माग राखेको महासङ्घका महासचिव धर्मसुन्दर बज्राचार्यले जानकारी दिए ।
पछिल्लो समयमा दैनिक २० किलोका दरले कच्चा सुन उपलब्ध गराउने व्यवस्थाले बजारको माग धान्न नसकेको महासङ्घले जनाएको छ ।